Tuesday, September 21st, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– गैंडाकोटमा आज बिहान बस र ट्रक ठोक्किंदा मृत्यु भएकाहरुको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा बर्दिया जिल्ला बाँसवारी नगरपालिका वडा नं। ८ कि ७० वर्षीया योगमाया सुवेदी, कञ्चनपुरको महेन्द्रनगर झलारी बस्ने ३५ वर्षीय कृष्ण राना र कञ्चनपुरकै ४० वर्षीया रंगी तिवारी रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये ३ जना गम्भीर, ७ जना मध्यम र १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

– जिल्ला प्रहरी कार्यालय सुर्खेतले १३ वर्षीया बालिकालाई भारतमा बेचेको आरोपमा ५० वर्षीया एक महिलालाई पक्राउ गरेको छ । भेरीगङ्गा नगरपालिका–६ सुर्खेतकी महिलालाई प्रहरीले पक्राउ गरी पत्रकार सम्मेलनमार्फत सोमबार सार्वजनिक गरेको हो । २०७१ साल जेठ १८ गते गुर्भाकोट नगरपालिका–९ सुर्खेतकी १३ वर्षीय बालिकालाई ती ५० वर्षीया महिलाको योजना र प्रपञ्चमा उनकै छोरीले भारतमा राम्रो नोकरी लगाइदिन्छु भनी ललाइफकाई गरी दिल्ली लगी बेचबिखन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

– २०७६ साउन २४ गते वीरगञ्जमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले विवेक सिंह उपनामले चिनिने ३३ वर्षीय फुलहसन अन्सारीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ । सोमबार बिहान ४ बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।

– आज पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसमविद्ले बताएका छन् । पानी पार्ने प्रणाली खासै नभएकाले केही दिन ठूलो पानी नपर्ने मौसमविद्ले बताउनुभयो । उहाँका अनुसार आज दिउँसो र बेलुका धेरै ठाउँमा मेघगर्जनसहित हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

– बैंकिङ कसुर मुद्दामा ३० लाख जरिमाना र सात दिन कैद फैसला सुनाइएका एक जना अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-१० घर भई काठमाडौं काँडाघारी बस्ने ३९ वर्षीय दीपक कार्की रहेका छन् ।

– पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ भने १ हजार ५८९ जना निको भएका छन् । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ भने ७ लाख ४२ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् ।

– रुपन्देहीको गैडहवाका एक दम्पती आफ्नै आठ महिने शिशुको हत्या गरेको आरोपमा पक्राउ परेका छन् । गैडहवा(६ बस्ने श्रीराम मल्लाह र उनकी श्रीमती रेनुले आफ्नै घरको छतमा आठ महिने शिशुको घाँटी रेटेर हत्या गरेको प्रहरीले जनाएको छ ।

– बैंकिङ कसूर मुद्दामा दोषी ठहर भई फरार रहेका एक व्यक्तिलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । बाराको जितपुरसिमरा उपमहानगरपालिका–१५ घर भई काठमाडौंको गोल्फुटारमा बस्ने २६ वर्षीय अनिस सुन्दासलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार सुन्दरीजलबाट पक्राउ गरेको हो ।

– प्रहरीले २३ ग्राम ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी नगरपालिका(२ बुद्ध चोक बस्ने ३४ वर्षीय भिमराज राई र सोही नगरपालिका-२ बस्ने अनुप सुब्बा लिम्बु रहेका छन् ।

– सुदूरपश्चिम प्रदेशमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको छ । सुदूरपश्चिम प्रहरी कार्यालय धनगढीको तथ्यांकअनुसार विगत ४ वर्षमा ज्यान मार्ने उद्योगका घटना बढेको पाइएको हो । सुदूरपश्चिम प्रदेशमा चार वर्षको अवधिमा २८२ वटा जाहेरी ज्यान मार्ने उद्योगमा दर्ता भएका छन् । आर्थिक वर्ष २०७४र७५ मा ज्यान मार्ने उद्योग शीर्षकमा ४८ जाहेरी परेका थिए । यस्तै २०७५/७६ मा ७४, २०७६/७७ मा ६९ र २०७७/७८ मा ९१ वटा जाहेरी ज्यान मार्ने उद्योगमा परेका छन् ।

– पाटन नगरपालिका-८ झ्याउलेखस्थित सडकमा गुडिरहेको बसमा ढुंगा खस्दा मंगलबार बिहान एक जनाको मृत्यु भएको छ । महेन्द्रनगरबाट बझाङको चैनपुरतर्फ जाँदै गरेको बसमा पहिरोसँगै खसेको ढुंगाले लाग्दा बसमा सवार बझाङ थलारा गाउँपालिका–५ का १८ वर्षीय अर्जुन नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*