Tuesday, September 21st, 2021
विदेशमा आज

विदेशमा आज

– न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले सकेसम्म छिटो खोप लगाउन आफ्ना सबै नागरिकलाई आग्रह गरेकी छिन् । उनले कोरोनाबाट बच्ने यो एकमात्र विकल्प रहेको बताएकी छिन् । न्युजिल्याण्डको राजधानी सहर अकल्याण्डमा कोरोना संक्रमण नियन्त्रणको लागि लगाइएको लकडाउन जारी छ ।

– अमेरिकाकास्थित एटलान्टा चिडियाघरका दर्जनबढी गोरिलामा कोरोना संक्रमण देखिएको छ । चिडियाखानाका १३ वटा गोरिलामा कोरोना संक्रमण देखिएको हो । जुकिपरबाट गोरिलाहरूमा कोरोना सरेको हुन सक्ने चिडियाखानाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो ।

– हाइटीका प्रधानमन्त्री एरियल हेनरीमाथि प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा तानिएपछि प्रधानमन्त्री हेनरीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । हत्या प्रकरणमा छानबिन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेनरीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् । राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक व्यक्तिले घटना भएको केही घण्टापछि प्रधानमन्त्री हेनरीलार्ई टेलिफोन गरेको प्रमाण भेटिएपछि उहाँ पनि शंकाको घेरामा तानिएको जनाइएको छ ।

– जापानमा एक शताब्दी अर्थात् सय वर्षभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धवृद्धाको संख्या ८५ हजार नाघेको छ। पहिलो पटक सय वर्ष वा सोभन्दा बढी उमेरसम्म बाँच्ने वृद्धहरुको संख्या १० हजार पुगेसँगै जापानमा नयाँ कीर्तिमानी कायम गरिएको बताइएको छ।

– अमेरिकी राष्ट्रपति जो बाइडनका उत्तर कोरियाली दूत सुङ किमले वार्ताको लागि ढोका खुला रहेको बताएका छन् । उत्तर कोरियाले लामो दूरीको क्रुज मिसाइल परीक्षण गरेसँगै अमेरिकी दूतले यस्तो बताएका हुन् । टोकियोमा जापान र दक्षिण कोरियाली अधिकारीसँगको वार्ताको क्रममा उनले यस्तो बताएका हुन् ।

– अफगानिस्तानबाट २० वर्षपछि आफ्ना सेना पूर्ण रुपमा फिर्ता गरेसँगै अमेरिकी राष्ट्रपति जो बाइडेनको लोकप्रियतामा गिरावट आएको विज्ञहरुको भनाइ छ । अफगानिस्तानबाट सेना फिर्ता गरेपछि उनको लोकप्रियता ह्वात्तै घटेको विज्ञहरुले बताएका हुन् । राष्ट्रपति बनेपछि पहिलो पटक बाइडेनको लोकप्रियतामा ५० प्रतिशत गिरावट आएको बताइएको छ ।

– भारतमा अब इन्जिनियरिङका विद्यार्थीले महाभारत र रामायण पढ्नुपर्ने भएको छ। भारतको मध्य प्रदेशका कलेजमा भर्ना हुने इन्जिनियरिङका विद्यार्थीहरुले अब महाभारत र रामायण पढ्नु पर्ने भएको हो। मध्य प्रदेशको उच्च शिक्षा विभागका अनुसार इन्जिनियरिङ विषयको पाठ्यक्रममा रामायण, महाभारत र रामचरितमानस समावेश गरिएको छ। अध्ययन बोर्डका शिक्षकहरुको उपस्थितिमा एनईपी २०२० अन्तर्गत रामायण, महाभारतसहितको पाठ्यक्रम तयार गरिएको हो।

– रुसका राष्ट्रपति भ्लादमिर पुटिन सिरियाली राष्ट्रपति बसर अल असदसँगको भेटपछि सेल्फ आइसोलसनमा बसेका छन् । आफ्नो पार्टीका कार्यकर्ताहरु समेत कोरोना संक्रमित भएपछि उनी मंगलबारदेखि सेल्फ आइसोलेसनमा बस्ने निर्णय गरेका हुन् । ६८ वर्षीय पुटिन आइसोलेसनमा बसे पनि उनको स्वास्थ्य अवस्था सामान्य रहेको र कोरोना संक्रमण नदेखिएको बताइएको छ ।

– अफगानिस्तानको विघटित सरकारका राजदूतले तालिबान समूहबाट भएको मानव अधिकार उल्लङ्घनबारे छानबिन गर्न संयुक्त राष्ट्रसंघको मानव अधिकार परिषद् समक्ष आग्रह गर्नुभएको छ । विघटित सरकारले राष्ट्रसंघका लागि नियुक्त गरेको अफगानिस्तानका स्थायी प्रतिनिधि नाशिर अहमद अन्दिशाले तालिबान समूहबाट भएको मानव अधिकार हनन र दुर्व्यवहारको तुरुन्त छानविन गर्न आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

– पृथ्वी ताताउने मिथेन ग्यास उत्सर्जन कम गर्नमा संयुक्त राज्य अमेरिका र युरोपेली संघ सहमत भएका छन् । सन् २०३० सम्ममा ३० प्रतिशत मिथेन ग्यास उत्सर्जन कटौती गर्न ती राष्ट्रहरु सहमत भएका हुन् । मंगलबार रोयटर्समा प्रकाशित ग्लोबल मिथेन प्लिजको प्रतिवेदन अनुसार आगामी नोभेम्बरमा ग्ल्यास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि गराउन जिम्मेवार मानिएको मिथेन ग्यास उत्सर्जन कमी गर्नमा अमेरिकार र युरोपेली संघका सदस्य राष्ट्रहरुले सहमति जनाएका छन् ।

– दक्षिण कोरियाले आफ्नो कम्पनी सामसुङको दुरुपयोग गरेको भन्दै संसारको सबैभन्दा ठूलो कम्पनी गुगललाई १७६.६४ अमेरिकी डलर (२०७ विलियन कोरियन रकम)जरीवाना लगाएको छ । सामसुङ कम्पनीको एन्ड्रोइड अपरेटिङ प्रणाली (ओएस)को कस्टुमाइज भर्सन ब्लक गरेको भन्दै सो रकम बराबरको जरीवाना लगाएको हो ।

– तालिबानले हालै गठित नयाँ सरकारका उपप्रधानमन्त्रीको मृत्युको खबरको खण्डन गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा फैलिएको उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरको मृत्युको खबर साँचो नभएको भन्दै तालिबानले समाचारबारे खण्डन गरेको हो ।

– तालिबान र पाकिस्तानविरुद्ध भारतको राजधानी नयाँ दिल्लीमा प्रदर्शन गरिएको छ । अफगानिस्तानका शरणार्थीले तालिबान र पाकिस्तानविरुद्ध मंगलबार दिल्लीमा प्रदर्शन गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार प्रदर्शनकारीहरुले हातमा पर्चा बोकेका थिए । पर्चामा ‘आतंकवाद र पाकिस्तान एउटै सिक्काका पाटा हुन्’ र ‘आइएसआइ अफगानिस्तान छोड’ जस्ता नारा लेखिएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*