Tuesday, September 21st, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा (माओवादी केन्द्र)का संविधान संशोधनका लागि सडकमा जानुपर्ने अवस्था आउन सक्ने बताएका छन् । पार्टीका तत्कालीन उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसमा पार्टी कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा प्रचण्डले संविधान बनाउने बेला नै आफूहरुले फरक मत राखेको बताए ।

– प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभाको बैठक मुख्य कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले उठेर विरोध गरेपछि तेस्रो कार्यसूचीमा रहेको संविधान सभा सदस्य मानबहादुर महतोको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक असोज ५ गतेसम्मका लागि स्थगित भएको छ ।

– संयुक्त राष्ट्रसंघको ७६ औं महासभा मंगलबार राति न्युयोर्कमा सुरु भएको छ । महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको भने टुंगो लाग्न सकेको छैन ।परराष्ट्र मन्त्रालयले प्रतिनिधिमण्डलबारे गृहकार्य भइरहेको उल्लेख गरे पनि कसको नेतृत्वमा को–को जाने भन्नेबारे अन्योल छ । परराष्ट्र मन्त्रालय सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले स्पष्ट निर्णय वा निर्देशन नगर्दा अलमल भएको एक अधिकारीले बताए ।

– औषधि ऐनसम्बन्धी अध्यादेश निष्क्रिय हुने भएपछि कोरोनाविरुद्धको खोप खरिद र आयात प्रक्रिया झन्झटिलो हुने भएको छ । अघिल्लो सरकारले सहज खोप आपूर्तिका लागि औषधि ऐन संशोधन गरेर अध्यादेश ल्याएको थियो । संसद्मा पेस भएको यो अध्यादेश बिहीबारबाट निष्क्रिय हुँदै छ ।

– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत–समाजवादी) असोज ५ गते काठमाडदंमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ । यही भदौ २९ गते बैठक बस्ने तयारी भए पनि केही गृहकार्य गर्नुपर्ने भएकोले सारिएको एकीकृत समाजवादीले जानकारी दिएको छ ।

– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा दिएका उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गरे ।

– आजदेखि कक्षा १२ को परीक्षा शुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने परीक्षा आगामी असोज ८ गतेसम्म हुनेछ । परीक्षा बिहान ११ बजे शुरु हुँदैछ । यसअघि बोर्डले दुई पटक जेठ २६ देखि असार ४ गतेसम्म र साउन ३१ देखि भदौ ९ गतेसम्म हुने भनिएको परीक्षा कोरोना संक्रमण जोखिमका कारण स्थगित गरेको थियो ।

– पार्टीको जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज ९बुधबार० बुटवल आउने भएका छन् । बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा रुपन्देहीस्तरीय कार्यकर्ता भेला आयोजना गरिएको एमाले रुपन्देहीले जनाएको छ ।

– लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पोखरेलका विरुद्ध अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी परेको छ । प्रदेश सभा सदस्य बिमला वली खत्रीले पोखरेल सहित एमालेका प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावत विरुद्ध हदैसम्मको कारबाहीको माग गर्दै किटानी जाहेरी दिनुभएको हो ।

– प्रगतिशील रुपान्तरण आन्दोलन, नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदन नगर्न सांसदहरुको ध्यानाकर्षण गराएको छ । एमसीसी सम्झौतामा नेपालको सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र समान राष्ट्रिय हैसियतमा हानी पुर्याउने खालका शर्तहरुका कारण नै यसको तीव्र विरोध भइरहेको प्रगतिशील रुपान्तरण आन्दोलनको ठहर छ । रुपान्तरण आन्दोलनका संयोजक श्याम श्रेष्ठले मंगलबार जारी गर्दै हालै एमसीसीका उपाध्यक्ष फातिमा सुमार लगायतका उच्च पदाधिकारीहरू नेपाल आएर राजनीतिक दलका नेताहरुको घरघर धाउनु अनौठो परिदृश्य भएको बताएका छन् ।

– थारु अगुवाहरुले भाषा आयोगले प्रदेशमा सरकारी कामकाजको भाषाका लागि गरेको सिफारिस विभेदपूर्ण रहेको बताएका छन् । थारु मानक भाषा मस्यौदा समितिले मंगलबार गरेको भर्चुअल छलफलमा थारु अगुवाहरुले प्रदेश-१ र प्रदेश-२ मा पनि थारु भाषालाई सरकारी कामकाजको भाषा सिफारिस गर्न माग गरेका छन् ।

– सरकारले स्थानीय तहमा जनस्वास्थ्य निरीक्षक राख्ने नीतिगत व्यवस्था गरेको छ । कोभिड–१९ प्रतिकार्यका लागि जनस्वास्थ्य निरीक्षक परिचालनसम्वन्धी कार्यविधि २०७८ (पहिलो संसोधन) जारी गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहमा १ हजार ७७ जना जनस्वास्थ्य निरीक्षक नियुक्त गर्ने बाटो खोलेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*