Thursday, October 28th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रतिनिधि सभाको बैठक आज बस्दैछ । दिउँसो १ बजे नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रगति प्रतिवेदन २०७६/७७ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

– राष्ट्रपति विद्यादेवी भण्डारी ‘रिफ्रेस’ हुन भन्दै चन्द्रागिरि गएकी छन् । परिवारका सदस्यहरु सहित सोमबार दिउँसो चन्द्रागिरि हिल्स रिसोर्ट गएकी उनी राति उतै बसेकी थिइन् । उनी मंगलबार भालेश्वर मन्दिरमा पूजा गरेर र लञ्च खाएर शितल निवास फर्किने कार्यक्रम छ ।

– नेपाल–भारतबीचको सीमा सुरक्षामा खटिने नेपालको सशस्त्र प्रहरी बल र भारतको सशस्त्र सीमा बल (एसएसबी)का उच्च सुरक्षा अधिकारीहरुबीच मंगलबार नयाँ दिल्लीमा बैठक हुँदैछ । उक्त बैठकमा सहभागी हुनका लागि सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल नेतृत्वको टोली दिल्ली आइपुगेको छ । एसएसबीको प्रधान कार्यालयमा बिहान ९ बजेदेखि दुई देशका सुरक्षा अधिकारीहरुबीचको छलफल तथा अन्तरक्रिया हुँदैछ ।

– राष्ट्रिय जनगणनामा अपांगता भएका व्यक्तिहरूको गणना सुनिश्चित गर्न सरोकारवालाले माग गरेका छन् । पर्याप्त तथ्यांकको अभावले अपांगता भएका व्यक्तिको पक्षमा प्रभावकारी योजना, नीति तथा कार्यक्रम बन्न नसकिरहेको र उनीहरू राज्यबाट पाउने सेवासुविधा र अवसरबाट वञ्चित भइरहेको उनीहरुको भनाइ छ ।

– संघीय संसद्का सांसद दसैं भत्ता पाइनेरनपाइने बुझ्न संसद् सचिवालय धाउन थालेका छन् । दसै नजिकिएसँगै सांसदहरूले संसद् सचिवालयको लेखा शाखाका कर्मचारी, लेखा प्रमुख र महासचिवको कार्यकक्षमा पुगेर भत्ताबारे सोधीखोजी गर्न थालेका हुन् । केहीले चाहिँ महासचिवलाई फोन गरेर भत्ता दिनेरनदिने बुझ्न थालेका छन् ।

– नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ । सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्पन्न गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।

– सिभिल बैंकका अध्यक्ष तथा व्यापारी इच्छाराज तामाङ ठगी आरोपमा पक्राउ परेका छन् । सिभिल ग्रुपका अध्यक्षसमेत रहेका तामाङलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार साँझ सुन्धाराबाट पक्राउ गरेको हो । उनी दोस्रो संविधानसभामा एमालेका तर्फबाट सभासद थिए ।

– लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा०ले प्रदेश २ को असोज २० गते बस्ने प्रदेशसभा बैठक अवरुद्ध गर्ने भएको छ । लोसपा संसदीय दलको सोमबार बसेको बैठकले मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग गर्दै प्रदेशसभा बैठक अवरुद्ध गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारी साइकल वितरण सम्बन्धी कागजात नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउतले राजीनामा दिनुपर्ने लोसपाको माग छ ।

– नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले पार्टीभित्र फरक मत नरहेको बताउनुभएको छ । पार्टीका सङ्गठन विभाग प्रमुखसमेत रहनुभएका उपमहासचिव पौडेलले पार्टी विचार, सङ्गठनसहित सबै हिसाबले एकताबद्ध रहेको दाबी गर्नुभयो । उहाँले पार्टीको विधान महाधिवेशनमा पार्टीभित्र फरक मत कसैले पनि नराखेको स्पष्ट पार्नुभयो ।

– नेपाल प्रहरी र सशस्त्र प्रहरीको १५ प्रतिशत रासन वृद्धि सम्बन्धी निर्णय लागू हुने भएको छ । प्रतिस्थापन विधेयकमार्फत बजेट व्यवस्था गरिएपछि अर्थमन्त्री जनार्दन शर्माले सोमबार रासन वृद्धि सम्बन्धी फाईल सदर गरेका हुन् । यसअघि रासन वृद्धिको घोषणा गरिएको भएपनि त्यसको लागि आवश्यक पर्ने बजेट विनियोजन नगरिएको कारण १५ प्रतिशत रासन वृद्धिको निर्णय कार्यान्वयन हुन सकेको थिएन ।

– चाडपर्वको समय आएसँगै डोटीका विद्यालयहरुमा चाडपर्व बिदाका लागि स्थानीय तहहरुले फरक फरक निर्णय गरेका छन् । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लामा कुनै स्थानीय तहले ६ दिनमात्र बिदा दिने निर्णय गरेका छन भने कसैले एक महीनासम्मै चाडपर्व बिदा राखेका छन् ।

– नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी र परराष्ट्र मन्त्री डा नारायण खड्काबीच भेटघाट भएको छ। सोमबार राजदूत बेरीले परराष्ट्र मन्त्री डा खड्कासँग भेट गरेका हुन्। उनले परराष्ट्र मन्त्री खड्कादलाई नयाँ जिम्मेवारीको लागि बधाइ दिनुका साथै नेपाल र अमेरिका बिचको बलियो तथा सुमधुर मित्रताको लागि प्रतिवद्धता व्यक्त गरे।

– नेपाली कांग्रेस गोरखाको जिल्ला पार्टी सभापतिमा नन्दप्रसाद न्यौपाने चयन भएका छन्। पार्टीको १४औँ महाधिवेशनअन्तरगत सोमबार भएको जिल्ला पार्टीको अधिवेशनमा न्यौपाने सर्वसम्मत चयन भएका हुन्। त्रिचालिस वर्षीय न्यौपाने यसअघि पार्टीको जिल्ला सचिव थिए। उनलाई जिल्लाका ११ वटै स्थानीय तहका पार्टी सभापतिको समर्थन रह्यो। आरुघाट गाउँपालिका–२ मान्वुका न्यौपाने विद्यार्थी राजनीतिदेखि नै कांग्रेसमा आबद्ध थिए।

– प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आफू पदीय जिम्मेवारीलाई पूरा गर्नुपर्छ भन्नेमा सचेत रहेको बताउनुभएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पदीय जिम्मेवारी पूरा गर्न नसकेको भन्दै संसदमा अवरोध गरिरहेका बेला सभामुख सापकोटाले यस्तो बताउनुभएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*