Thursday, October 28th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मध्यपुर थिमि नगरपालिका(३ कौशलटारमा सोमबार राति मोटरसाइकल दुर्घटना हुँदा चालक पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको मृत्यु भएको हो । उनको इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको पछाडि बसेका वीरगञ्जका सियाराम सिंह गम्भीर घायते भएका छन् ।

– कैलालीमा बसको ठक्करबाट सोमबार राति एक जना पैदलयात्रीको मृत्यु भएको छ । मोहना पुल अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

– बाराको कलैयामा बाल्टिनको पानीमा डुबेर २ वर्षीया बालिकाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका–२० बसतपुरका मैनोद्दिन मियाँको छोरी २ वर्षीया आयश खातुनको मृत्यु भएको हो । सोमबार बिहान पौने ११ बजे घरमै पानीसहितको बाल्टिनमा डुबेकी बालिकाको अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

– सशस्त्र प्रहरीले पर्साबाट प्रतिबन्धित लागूऔषध चरेस १० किलोसहित दुई जनालाई पक्राउ गरेको छ । पर्साको जिराभवानी गाउँपालिका–३ हरैयाका १८ वर्षीय सुनिल माझी र अर्का १६ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो । जगरनाथपुर–२ जानकीटोलमा चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुले बोकेको झोलाबाट चरेस बरामद भएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

– पोखरामा रहेको पूर्वयुवराज पारस शाहको फ्ल्याटमा चोरी भएको छ । चोरीमा संलग्न रहेको अभियोगमा काठमाडौंको मित्रनगरबाट शिव गौतम पक्राउ परेको काठमाडौं प्रहरी प्रमुख एसएसपीले बताए । उनका अनुसार शाहको निवासमा कामदारका रुपमा कार्यरत गौतम उनको फ्ल्याटमा चोरी गरेर भागेका थिए । उनको निवासबाट क्यामरा, दुई वटा आईप्याण्ड, दुरबिन लगायत चोरी भएको बताइएको छ । चोरीका सामान पनि बरामद भएको प्रहरीले जनाएको छ ।

– काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा हिजो बेलुकादेखि भइरहेको वर्षा अहिले रोकिएको छ । अहिले बिहानदेखि पानी पर्न रोकिएको हो । उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा हिजो बेलुकीदेखि नै ठूलो वर्षा भएको थियो । अहिले पानी पर्न रोकिए पनि बेलुका पख भने फेरि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताउनुभयो । उहाँका अनुसार भारतको बिहार आसपास क्षेत्रमा बनेको न्यूनचापीय क्षेत्रको असरले काठमाण्डौ उपत्यकासहित केही ठाउँमा ठूलो पानी परेको हो । यस्तै, अक्टोबर महिना लागिसकेकाले अहिले पोस्ट मनसुनको जस्तो गतिविधि पनि देखिन थालेकाले अचानक बादल बनेर ठूलो पानी पर्न थालेको उहाँको भनाइ छ ।

– प्रहरीले पर्साबाट डिजेल चोरी निकासी गर्न प्रयोग गरिएको ट्याक्टर नियन्त्रणमा लिएको छ । लुकाएर राखिएको ७० लिटर डिजेलसहित ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । जानकीटोलको बाटो हुँदै अवैध रूपमा डिजेल चोरी निकासी भइरहेको सूचनाको आधारमा प्रहरी चौकी पाण्डेपुरबाट खटिएको टोलीले ट्याक्टर बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपीले जानकारी दिए ।

– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । काठमाण्डौबाट नेपालगञ्ज उड्न लागेको श्री एयरलाइन्सको जहाज चिप्लिएको हो । कार्यालयका अनुसार जहाजमा कुनै क्षति भएको छैन । यात्रुलाई सकुशल ओरालिएको छ । जहाज पार्किङबाट ट्याक्सिवेमा गुड्दागुड्दै घाँसे मैदानतिर चिप्लिएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।

– यसपालिको दशैँमा पनि पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुन अझै केही दिन रहने भएकाले दशैँमा पनि पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका हुन् । मौसमविद्का अनुसार अहिलेसम्मको प्रक्षेपणले यो हप्ताभरि नै मनसुन रहने अनुमान गरिएको छ । दशैँको घटस्थापना सुरु हुन अब दुई दिन मात्रै बाँकी छ । मौसमविद् मानन्धरले यसपालिको दशैँमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको बताउनुभयो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*