Thursday, October 28th, 2021
विदेशमा आज

विदेशमा आज

– भौतिक विज्ञानतर्फको नोबेल पुरस्कार वैज्ञानिकहरू स्यूकुरो मानाबे, क्लाउज हसलम्यान र जर्जियो पारिसीले प्राप्त गरेका छन् । स्विडेनको स्टकहोममा नोबेल एसेम्बलीले तीन जना वैज्ञानिकलाई संयुक्त रूपमा भौतिक विज्ञानतर्फको पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो । जलवायु परिवर्तनको भविष्यवाणी गर्न र जटिल भौतिक प्रणालीबारे बुझ्न उनीहरूले गरेका खोजका लागि सन् २०२१ को नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरेको बीबीसीले जनाएको छ ।

– फ्रान्सका चर्चमा ७० वर्षयता २ लाख नाबालिगहरु क्याथोलिक पादरीहरुबाट यौन शोषण तथा दुर्व्यवहारमा परेको तथ्य खुलासा भएको छ । एक सर्वेक्षणका अनुसार फ्रेन्च पादरीहरुले ७० वर्षको अवधिमा २ लाखभन्दा धेरै नाबालिगहरुमाथि यौन शोषण गरेको तथ्य खुलासा भएको हो ।

– फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए ।

– फेसबुककी एक पूर्वकर्मचारीले ती प्रविधि कम्पनीका वेबसाइट र एपले बालबालिकालाई हानि पुर्याउने, विभाजनहरूलाई बढाउने र प्रजातन्त्रलाई कमजोर बनाउने बताएकी छिन् । फेसबुकमा प्रडक्ट म्यानेजरका रूपमा काम गरेकी ३७ वर्षीया फ्रान्सिस हाउगनले अमेरिकी विधायकहरूसँग यस्तो बताएकी हुन् । उनले कम्पनीका गोप्य कुराहरू बताएकी थिइन् ।

– नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल र चीनबीच सीमा विवाद नरहेको बताएकी छन् । मंगलबार ट्विट गर्दै राजदूत यान्छीले दुई देशबीचमा कुनै पनि सीमा विवाद नरहेको बताएकी छन्।

– ताइवानकी राष्ट्रपतिले आफ्नो देशलाई चीनले कब्जा गरे एसियाको शान्ति र प्रजातन्त्रमा विनाशकारी परिणाम आउने चेतावनी दिएकी छन् । राष्ट्रपति त्साई इङ वेनले ताइवानले सैन्य टकराव नचाहेको बताएकी छिन् । यद्यपि आफ्नो रक्षाको लागि आवश्यक कदम भने ताइवानले उठाउने उनको भनाइ छ । चीनले ताइवानमाथि दबाब बढाइरहेको समयमा ताइवानकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो । चीनले ताइवानलाई आफ्नो एक प्रान्त मान्दै आएको छ । पछिल्लो चार दिनमा चीनका करिब डेढ सय चिनियाँ फाइटर विमान ताइवानको हवाइ रक्षा क्षेत्रमा प्रवेश गरिसकेका छन् ।

– भारतले कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको परिवारलाई ५० हजार रुपैयाँ राहत उपलब्ध गराउने भएको छ । सोमबार भारतको सर्वोच्च अदालतले कोरोनाबाट मृत्यु हुनेको प्रत्येकको परिवारलाई ५० हजार रुपैयाँ राहत दिने निर्णय सदर गरेको हो । भारतमा अहिलेसम्म आधिकारिकरुपमा कोरोना भाइरसको कारण चार लाख ४७ हजारभन्दा धेरैको मृत्यु भएको छ । यद्यपि जानकारहरुले भने यो संख्या वास्तविकतामा १० गुणा बढी हुन सक्ने बताएका छन् । सरकारले यो राहतको लागि आवेदन दिएको ३० दिनभित्र रकम उपलब्ध गराउनुपर्ने सर्वोच्च अदालतले बताएको छ ।

– युरोपमा १८ वर्षदेखि माथिका नागरिकलाई कोरोनाविरुद्धको बुस्टर डोज दिइने भएको छ । युरोपियन युनियन अन्तर्गत औषधि नियामक निकायको हिजोको बैठकमा १८ वर्षमाथिका सबैलाई फाइजर बायोएनटेकको बुस्टर डोज दिन अनुमति दिएको हो । कोरोना विरुद्धको खोपको दोस्रो डोज लगाएको ६ महिना पछि बुस्टर डोज दिइने छ ।

– अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले हजारा समुदायका १३ जनाको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । अफगानिस्तानलाई आफ्नो कब्जामा लिएको केही समयपछि नै तालिबानले उनीहरुको हत्या गरेको एम्नेस्टी इन्टरनेशनलले बताएको छ । मारिनेमा १७ वर्षीया किशोरी पनि रहेको एम्नेस्टी इन्टरनेशनलको प्रतिवेदनमा उल्लेख छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*