Thursday, October 28th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– अर्थमन्त्री जनार्दन शर्माले विकास निर्माणको ठेक्का लगाउन सूचना जारी भएको ३५ दिनसम्म दिइने म्यादलाई ७ दिनमा झार्ने प्रस्ताव गरेका छन् । सार्वजनिक खरीद ऐन अनुसार बोलपत्र दाखिलाका लागि ३५ दिन समय दिनुपर्ने, त्यसपछि पनि विभिन्न शीर्षकमा धेरै दिन म्याद दिँदा ठेक्का लाग्नै ढिला हुने उनले बताए ।

– नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको विद्युत् खरिद सम्झौता (पीपीए) सीमा बढाउँदा त्यसबाट सिर्जित समस्याको दायित्व आफैं वहन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सुझाव दिएको छ । पीपीएको सीमा बढाउन सरकारलाई निजी क्षेत्रको दबाब छ । तर मन्त्रालयले यसमा तत्काल कुनै निर्णय नलिने देखिएको हो । बरु आवश्यकता, औचित्य र जोखिमको विश्लेषणपछि पीपीए थप गर्न चाहेमा प्राधिकरणले त्यस्तो निर्णय लिन सक्ने मन्त्रालयले जनाएको छ ।

– सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

– विदेशी मुद्रा आर्जन गरेका नेपाली फर्मरकम्पनीरसंघरसंस्थारनिकायलगायतले विदेशमा ऋण लिन ५० लाख अमेरिकी डलर बराबरको बैंक ग्यारेन्टी वा स्ट्यान्डबाई एलसी (प्रतीत पत्र) सुविधा पाउने भएका छन् । ती निकायले विदेशी बैंकबाट ऋण लिई कारोबार सञ्चालन गरी नेपालमा थप विदेशी मुद्रा भित्र्याउने प्रयोजनका लागि राष्ट्र बैंकले उक्त सुविधा दिने भएको हो । यसका लागि राष्ट्र बैंकले एकीकृत परिपत्र परिमार्जन गरिएको जनाएको छ ।

– अर्थ मन्त्रालयले सरकारी गाडीको विवरण माग गरेको छ । संसदको दिगो विकास तथा सुसासन समितिमा अर्थमन्त्री जनार्दन शर्माले पुराना गाडी कति कुन अवस्थामा छन् भन्ने विवरण आफूले माग गरेको जानकारी दिए । अर्थमन्त्री शर्माका अनुसार अर्थ मन्त्रालयमा नयाँ गाडी किन्न मन्त्रालय तथा विभिन्न निकायबाट अहिले पनि माग हुने गरेको छ ।

– संघीय सरकारले त्रिवेणी छोटी भन्सारलाई मूल भन्सारमा स्तरोन्नति गरेको एक वर्ष बितिसकेको छ । त्यसका लागि अर्थ मन्त्रालयले कर्मचारी पनि खटाइसकेको छ । तर भन्सार सञ्चालन गर्न आवश्यक भौतिक संरचनाहरू गोदाम, पार्किङ, सुरक्षा निकायको कार्यालयलगायत नहुँदा समस्या भएको छ । यसकै कारण आयात–निर्यात र कारोबारसमेत बढ्न सकेको छैन । भारतसँग सीमा जोडिएको यो गण्डकी प्रदेशको एक मात्र नाका हो ।

– देशैभर दशैंको चहलपहल बढेसँगै पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको नेपाल आयल निगमले जनाएको छ । देशभर डिजेलको खपत दैनिक १२ लाख लिटरले बढेको निगमका प्रवक्ताले बताए । यस्तै पेट्रोलको खपत सामान्य अवस्थामा भन्दा दैनिक ६ लाख लिटरले वृद्धि भएको उनले बताए । सामान्य अवस्थामा दैनिक देशभर ४० लाख लिटर डिजेल खपत हुने गरेकोमा अहिले यस्तो खपत ५२ लाख पुगेको छ । यस्तै १९ लाख लिटर दैनिक खपत रहेको पेट्रोलको माग पनि २५ लाख लिटर पुगेको प्रवक्ताले बताए ।

– विश्व बैंकले आर्थिक वृद्धि दरको प्रक्षेपण सार्वजनिक गर्ने भएको छ । एडीबीपछि विश्व बैंकले सार्वजनिक गर्न लागेको प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर १ प्रतिशतभन्दा कमले घट्ने स्रोतले बताएको छ । आर्थिक वर्ष २०२०/२१ मा नेपालले १.८ प्रतिशत आर्थिक वृद्धिको प्रक्षेपणलाई ‘साउथ एसिया इकोनोमिक फोकस फल २०२१’ प्रतिवेदनमा देखाइएको स्रोतले बतायो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*