Thursday, October 28th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ सरकारलाई बदनाम गर्ने प्रयास भएको आरोप लगाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही दिनअघि मुख्यमन्त्री कार्यालयमा छापा मार्नु सरकारलाई बदनाम गर्ने प्रयास भएको बताएका हुन् ।

– तलबभत्ताको माग गर्दै बेनी अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् । तीन महिनादेखि तलब निकासा नदिएको भन्दै उनीहरुले पेन डाउन गरेर ओपीडी सेवा ठप्प पारेका हुन् । स्वास्थ्यकर्मीको आन्दोलनले अस्पताल पुगेका बिरामीहरू अलपत्र परेका छन् ।

– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरी अनुसन्धान कार्यमा कसैसँग सम्झौता नगर्ने संगठन भएको बताएका छन् । नेपाल प्रहरी कुनै शक्तिबाट प्रभावित नहुने र अनुसन्धान कार्यमा सम्झौता नगर्ने सङ्गठन हो भन्नेमा आफू पूर्ण विश्वस्त रहेको उनको भनाइ छ ।

– कांग्रेस नेता प्रकाशमान सिंहले अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौंको रहेको बताएका छन् । उनले पार्टीमा यतिका वर्षसम्म काठमाडौंबाहिरका नेताहरू मात्रै सभापति बनेको भन्दै यसपटक काठमाडौंलाई नेतृत्व गर्न दिइनुपर्ने बताए ।

– नेपाल प्रहरीले पहिलो महिला प्रहरी चैतमाया डंगोललाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले ६६औं प्रहरी दिवसका अवसरमा बुधबार डंगोललाई उक्त अवार्ड प्रदान गरेका हुन् ।

– भारतसँग सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।

– खाद्यान्न अभाव बढेपछि उत्तरी गोरखाको चुम्चेत र छेकम्पारवासीले उत्तरी नाका खुलाउन माग गरेका छन् । कोरोना जोखिम बढेसँगै उत्तरी दुई चिनियाँ नाका दुई वर्षदेखि बन्द छन् । चुमभ्याली हुँदै जाने छेकम्पारको ङुइला भञ्ज्याङ र चुमनुब्री गाउँपालिका–१ सामागाउँस्थित रुइला नाका खोल्न चुमनुब्रीका स्थानीयले माग गरेका हुन् ।

– विविध कारणले रोकिएका भारतसँगको विभिन्न तहका संवादले गति लिन थालेको छ । पछिल्लो एक महिनामा कृषि मन्त्रालय, विद्युत् प्राधिकरण, नेपाली सेना, सशस्त्र प्रहरी तथा भौतिक पूर्वाधार मन्त्रालयका अधिकारीहरू विभिन्न बैठकका लागि दिल्ली आएका छन् ।

– कोरोना संक्रमणले पर्यटकको आगमन घटेर आम्दानीको स्रोत खुम्चिएपछि लुम्बिनी विकास कोषलाई कर्मचारीलाई तलब खुवाउन समस्या भएको छ । कोषले एक वर्षयता करार, सेवा करार, दैनिक ज्यालादारीका कर्मचारीलाई महिनामा १५ दिनमात्रै काममा लगाउने र त्यति बराबरकै मात्र तलब दिएर काम चलाउँदै आएको छ । कर्मचारीलाई तलब खुवाउन पैसा नभएपछि कोषले करिब ५ करोड रुपैयाँ आन्तरिक ऋण लिइसकेको छ ।

– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको बैठक बस्दैछ । बुधबार दिउँसो आफ्नो समूहबाट सरकारमा जाने मन्त्रीको नाम चयन गर्न पौडेल समूहको बैठक बस्न लागेको हो । मन्त्रालय भागबण्डामा कुरा मिलेपछि बिहीबारसम्म मन्त्रिपरिषद् विस्तारको तयारी छ । कांग्रेसको भागमा आठवटा मन्त्रालय परेको छ । संस्थापन समूहबाट तीन मन्त्री र एक राज्यमन्त्री चयन भइसकेका छन् । बाँकी चार मन्त्रीमध्ये तीन मन्त्रालय संस्थापन इतर समूहले पाउने भएका छन् । त्यसमध्ये पौडेल समूहको भागमा दुईवटा मन्त्रालय परेका छन् । एउटा मन्त्रालय कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो समूहसँग राख्ने भएका छन् ।

– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ । सिंहको निवास चाक्सीबारीमा बुधबार नेताद्वयबीच भेटवार्ता भएको हो । भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*