Thursday, October 28th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– पर्सा प्रहरीले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका-१ का ३० वर्षीय लोकराज पटेल रहेका छन् । उनको साथबाट प्रहरीले २ केजी गाँजा बरामद गरेको छ ।

– महानगरीय ट्राफिक प्रहरी महाशाखाले नम्बर प्लेट नराखी चलाएका २१९ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महाशाखाले चलाएको नम्बर प्लेट बिरुद्धको कारबाही अभियानको क्रममा नम्बर प्लेट नलेखिएका १६५ वटा र अस्पष्ट खुइलिएका नम्बर प्लेट भएका ५४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको हो ।

– बेचबिखनमा पर्न लागेकी एक युवतीको वीरगञ्जबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल र आफन्त नेपालको संयुक्त टोलीले नुवाकोट घर भएकी २२ वर्षीय युवतीलाई उद्धार गरेको हो । बेचबिखनमा संलग्न रहेको आरोपमा भारतको पूर्वी चम्पारण भुलाहीका ३३ वर्षीय मुन्ना आलम पक्राउ परेका छन् । आलमविरुद्ध पर्सा जिल्ला अदालतमा मंगलबार मानव बेचबिखन तथा ओसारपसारको मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

– अरनिको राजमार्ग खण्ड अन्तर्गत भक्तपुरको कौशलटारस्थित ६ लेन सडकमा तीव्रगतिमा गुडेको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडि सवार प्रहरी हबल्दार गम्भीर घाइते भएका छन् । तीव्र गतिमा आएको मोटरसाइकल अनियन्त्रित भई सडकको बारमा ठोक्किएर दुर्घटना हुँदा पर्सा वीरगञ्ज महानगरपालिका–२० घर भई हाल भक्तपुर नपा–१० कमलविनायक बस्ने ३० वर्षीय लोकनाथ ठाकुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकल पछाडि सवार वीरगञ्ज महानगरपालिका–२० घर भई हाल इलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुर रौतहटमा कार्यरत प्रहरी हबल्दार सियाराम सिंह घाइते भएका छन् ।

– ठगी गरेको आरोपमा प्रहरीले दुई महिलालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काभ्रे बनेपा नगरपालिका–३ की १९ वर्षीया उर्मिला भन्ने युनिसा मगर र काभ्रे नमोबुद्ध नगरपालिका–८ की २६ वर्षीया रोशनी भन्ने सुनिता तामाङलाई सोमबार पक्राउ गरेको हो । उनीहरुले काठमाडौंको बौद्ध बस्ने एक पुरुषलाई एयरपोर्टबाट ट्याक्सीमा बस्न लगाएर ललितपुरको चापागाउँमा पु¥याई उनको साथबाट भएको २ लाख ५० हजार रुपैयाँ बराबरको सुनको औंठी ठगी गरेको प्रहरीले जनाएको छ ।

– रौतहटको माधवनारायण नगरपालिकामा बागमती नदीले बगाएर एक जना बेपत्ता भएका छन् । छिमेकीको मलामी गएको बेला नदीमा पौडिन पसेका माधवनारायण नगरपालिका–६ माधवपुरका ५० वर्षीय गंगाराम बैठा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

– भारतबाट नेपालतिर मानव खप्पर एवं हड्डीको तस्करी भइरहेको पाइएको छ। सशस्त्र प्रहरीले विराटनगरबाट बरामद गरेको वस्तु मानव खप्पर एवं खुट्टा र हातको नली हड्डी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो। सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपीका अनुसार विराटनगर महानगरपालिका–१५ बाट सोमबार राति खप्परजस्तो देखिने २८ पिस र नली खुट्टा एवं हातको हड्डीजस्तो देखिने वस्तु १० पिस बरामद गरिएको छ। भारतको जोगवनीबाट नेपाल प्रवेश गरेको मारुती भेनलाई विराटनगर भन्सार कार्यालयको २ नम्बर ढाटमा रोकेर चेकजाँच गरिएको उनले बताए।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*