Thursday, October 28th, 2021
विदेशमा आज

विदेशमा आज

– पाकिस्तानमा आज बिहान भूकम्प जाँदा कम्तिमा २० जनाको मृत्यु भएको छ भने कयौं व्यक्तिहरु घाइते भएका छन् । पाकिस्तानको पश्चिम क्षेत्रमा पर्ने बलुचिस्तान प्रान्तको क्वेटा क्षेत्रमा आज बिहान करिब ३ बजेतिर ५.७ म्याग्निच्युटको भूकम्प गएको हो । बिहानको समयमा सुतिरहेका बेला भूकम्पको धक्का महसुस भएपछि मानिसहरु आत्तिएर भागाभाग गरेका थिए ।

– अणु निर्माण कार्य विकसित गर्ने वैज्ञानिकद्वयलाई सन् २०२१ को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको छ । नोबेल पुरस्कार कमिटीले वैज्ञानिकद्वय बेन्जामिन लिस्ट र डेभिड म्याकमिलनलाई संयुक्त रूपमा उक्त पुरस्कार दिने निर्णय गरेको हो । उनीहरूको कार्यले औषधि क्षेत्रमा अनुसन्धानका लागि सहायता पुग्ने अपेक्षा गरिएको कमिटीले जनाएको छ ।

– तालिबानले सत्ता कब्जा गरेपछि काबुलबाट सुरक्षित स्थानका लागि भागेकी अफगान युवतीको घरपालुवा चरा अबुधाबीस्थित फ्रान्सेली राजदूतसँगै नयाँ घरमा बस्न पाएको छ । यूएईबाट फ्रान्स उड्ने क्रममा ती युवतीले आफ्नो चरालाई सँगै लैजान नपाएपछि जुली नामको चरालाई अबुधाबीस्थित फ्रेन्च राजदूत जेभियर चटेलले दूतावासमै राखेका हुन् ।

– स्विडेनमा ३० वर्षभन्दा कम उमेर समूहकालाई कोरोना विरुद्धको खोप लगाउन स्थगित गरिएको छ । ‘साइड इफेक्ट’ देखिएकाले मोर्डना कम्पनीले उत्पादन गरेको खोप ३० वर्ष भन्दा कम उमेर समूहकालाई लगाउन बन्द गरिएको स्विडेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । मुटुको मांसपेशी वा पेरिकार्डियम सुन्निने जस्ता साइड इफेक्टको बढ्दो जोखिमका कारण खोप लगाउन तत्कालको लागि स्थगित गरिएको हो ।

– ताइवानका रक्षामन्त्रीले चीनसँगको सम्बन्ध ४० वर्षयताकै तनावपूर्ण अवस्थामा रहेको बताउनुभएको छ। यस्तै रक्षामन्त्री चिउ कुओ चेंगले २०२५ सम्म चीनले ताइवानमा पूरै नियन्त्रण गर्न सक्ने भन्दै चेतावनी पनि दिनुभएको बीबीसीले जनाएको छ । चीनले ताइवानको सैन्य क्षेत्रमा लगातार मिलिटरी जेट पठाएपछि रक्षामन्त्रीको यस्तो टिप्पणी आएको हो ।

– तालिबान सरकारको नियन्त्रणमा रहेका अफगानिस्तानका हतियार वितरक (विक्रेता) हरुले अमेरिकाले त्यागेका हतियार बेच्न थालेका छन्। विक्रेता समुहले अमेरिकाले त्यागेका बन्दुक र ग्रिनेड जस्ता हतियार बेच्न सुरु गरेका हुन्। अफगानिस्तानको कांधरका एक बन्दुक व्यापारीले आफुहरुले खुलेआम अमेरिकाले त्यागेका हतियार बिक्रि गरिरहेको बताएका छन्।

– ताइबानबारे अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिङ पिङबीच आकस्मिक छलफल भएको छ। चीनले श्रृंखलाबद्ध रुपमा ताइबानको वायु रक्षा क्षेत्रमा युद्धक विमान पठाएपछि आफुहरुबीच आकस्मिक छलफल भएको बाइडेनले बताएका छन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*