Thursday, October 28th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– स्थानीय तहले सैद्धान्तिक बेरुजु भन्दै त्यसको फर्स्योटमा बेवास्ता गर्ने गरेका छन् । मनमौजी खर्च गर्ने, अघिल्ला वर्षदेखिको बेरुजु फर्स्योट नगर्ने र थपिँदै जाने क्रम बढेको छ । यो समस्या पाल्पामा मात्रै होइन, मुलुकभरकै स्थानीय तहमा रहेको महालेखापरीक्षकको प्रतिवेदनले औंल्याएको छ । पाल्पाका ९ स्थानीय तहबाट १ करोड ९९ लाख २४ हजार रुपैयाँ असुलउपर गर्नुपर्ने बेरुजु रहेको महालेखाको प्रतिवेदनले देखाएको छ ।

– खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ५ सय ३१ खसीबोका काठमाडौं भित्राएको छ । हिजो तीन वटा ट्रकमा काठमाडौंका लागि दाङ र हेटौंडाबाट हिँडाइएको खसीबोका बिहान ३ बजे आइपुगेको कम्पनीका नायव प्रबन्ध निर्देशकले जानकारी दिए । कम्पनीले आज बैठक बसेर जिउँदो खसीबोकाको मूल्य तय गरेर शनिबारदेखि बिक्री थालिने उनले बताए । बजार मूल्यभन्दा प्रतिकिलो १० रुपैयाँ सहुलियतमा कम्पनीले खसीबोका बिक्री गर्ने छ । बजारमा जिउँदो खसी बोकाको मूल्य ५५० देखि ७५० रुपैयाँसम्म छ ।

– सुन चाँदीको भाउ आज पनि बढेको छ । तोलामा आज दुई सय रुपैयाँले बढेर सुनको भाउ ९० हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, तोलामा १० रुपैयाँले बढेर आज चाँदीको भाउ ११ सय ७० रुपैयाँ पुगेको छ ।

– कोसी करिडोर २ सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत पहिलो प्याकेजको निर्माण सकिएको छ । पहिलो प्याकेजअन्तर्गत सुनसरीको इनरुवाबाट संखुवासभाको वसन्तपुर, बानेश्वर हुँदै तुम्लिङटारसम्म डबल सर्किट विद्युत् टावर निर्माण गर्ने र एकतर्फी तार तान्ने काम सकिएको हो ।

– निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले जेटस्ट्रिम जहाजमार्फत भैरहवामा पहिलो पटक आफ्नो नियमित उडान शुरु गरेको छ । काठमाडौं(भैरहवा उडान शुरु गरेको यो जहाजको सिट क्षमता ३० सिट रहेको कम्पनीले जनाएको छ । गुण एयरलाइन्सले बिच एअरक्राफ्ट १९०० मार्फत भरतपुर, पोखरा र तुम्लिङटारमा असोज १ गतेदेखि नै आफ्नो नियमित उडान शुरु गरिसकेको छ ।

– यस वर्षको दसैं र तिहारका लागि बुधबारसम्म करिब २५ अर्ब रुपैयाँ बराबर नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ । राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुखले जानकारी दिए ।

– बैंक तथा वित्तीय संस्थामा तरलताको दबाव बढ्दै गएको र व्याजदरमा समेत वृद्धि भइरहेकोमा नेपाल उद्योग परिसंघले ध्यानाकर्षण भएको जनाएको छ । तरलता र व्याजदरमा परेको चापप्रति नेपाल सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुनुपर्ने परिसंघको भनाइ छ । बैंक तथा वित्तीय संस्था र उद्योगीसँगको छलफलमा हाल बजारमा तरलताको चाप बढ्दै गए पनि यो समस्या दीर्घकालीन नभई तत्कालका लागि मात्र भएको धारणा आएको भन्दै परिसंघले समस्या समाधान गर्न तत्काल उचित कदम नचाल्ने हो भने समस्या विकाराल हुनेमा सजग हुन समेत परिसंघले सबै पक्षलाई आग्रह गरेको छ ।

– विश्व बैंकले यो वर्ष नेपालको आर्थिक वृद्धि दर तीन दशमलव नौ प्रतिशत रहने प्रक्षेपण गरेको छ । विश्व बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनले सन् २०२१ जुलाईदेखि २०२२ जुलाईसम्मको अवधिमा नेपालले तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि दर हासिल गर्ने प्रक्षेपण गरेको हो ।

– दसैंको मुखमा दुर्गमका दुई डिपोमा चामल रित्तिएका छन् । विगतमा टेन्डर प्रक्रिया सकेर असोज पहिलो साता चामल ढुवानी हुने उत्तरी गोरखामा यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ढुवानीका लागि टेन्डर प्रक्रियासमेत टुङयाउन सकेको छैन ।

– तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बुधबार बजारमा पठाएको २० अर्ब रुपैयाँको रिपोमा बैंक तथा वित्तीय संस्थाबाट ४८ अर्ब बराबरको माग आएको छ । परिपक्वता अवधि १४ दिन रहेको उक्त रिपो बुधबार राष्ट्र बैंकले वितरण गरेको हो । रिपोका लागि १४ वटा बैंक तथा वित्तीय संस्थाले बोलकबोल गरेका थिए । रिपोको औसत ब्याजदर ४।९५ प्रतिशत कायम भएको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुखले बताए ।

– रक्सौल–काठमाडौं रेलमार्गको विस्तृत आयोजना अध्ययन (डीपीआर) का लागि द्विपक्षीय समझदारीपत्र (एमओयू) मा बुधबार हस्ताक्षर भएको छ। डीपीआर १८ महिनामा तयार पारिसक्नुपर्ने छ। दिल्लीमा बुधबार सुरु नेपाल–भारत रेलसम्बन्धी संयुक्त कार्यदलको बैठक यो निचोडमा पुगेको हो। अब आयोजनाको काम अघि बढाउन बाटो खुलेको रेल विभागका महानिर्देशकले बताए। यसमा भारत सरकारको प्राविधिक र आर्थिक सहयोग हुनेछ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*