Thursday, October 28th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– बिहीबार घटस्थापनाको दिन नेपाली चलचित्रका ९ जना नायिकाहरु ‘राष्ट्रिय नवदुर्गा सम्मान’बाट सम्मानित भएका छन् । नायिका रेजिना उप्रेतीको ‘रेजिना ईन्टरटेन्मेन्ट प्रा।ली’ र बिमला केसीको ‘सहिद फिल्मस् प्रा।ली’ले चलचित्र विकास बोर्डको सभाहलमा ‘दोस्रो राष्ट्रिय नवदुर्गा सम्मान–२०७८’ आयोजना गर्दै पुराना देखि नयाँ ९ जना नायिकाहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा नेपाली पहिलो रंगीन चलचित्रकी नायिका चैत्यदेवी सिंहदेखि शर्मीला मल्ल, लक्ष्मी गिरी, मौसमी मल्ल, नीता ढुंगाना, केकी अधिकारी छन् । यस्तै, पछिल्लो पुस्ताका नायिकाहरु सुरक्षा पन्त, साम्राज्ञी राज्यलक्ष्मी शाह र उपासना सिंह ठकुरी छन् । चलचित्र क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको हो ।

– तमिलका सुपरस्टार अजित कुमारका कारण आफ्नो जागिर गएको भन्दै एक महिलाले उनको घर अगाडि आत्महत्याको प्रयास गरेकी छिन् । फरजाना नाम गरेकी महिलाले अजितका कारण जागिर गएको भन्दै आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेकी हुन् । भारतीय मिडियाका अनुसार, फरजाना एक अस्पतालमा काम गर्थिन् । जब अजित र उनकी श्रीमती उक्त अस्पताल पुगेका थिए सो समयमा फरजानाले भिडियो बनाएर सामाजिक संजालमा अपलोड गरेकी थिइन् । उनलाई अस्पतालको नियम तोडेको आरोपमा जागिरबाट निकालिएको थियो । फरजानाले अजितकी श्रीमती सालिनीसँग आफ्नो जागिर फिर्ताका लागि सहयोग गर्न आग्रह गरेकी थिइन् । अस्पताल प्रशासनले भने फरजानासँग अन्य केही समस्या भएका कारण जागिरबाट निकालिएको बताएको छ ।

– लोकप्रिय पौराणिक टेलिसिरियल ‘रामायण’मा ‘रावण’को भूमिका निभाएका अभिनेताको निधन भएको छ । रावणको भूमिका निभाएका अभिनेता अरविन्द त्रिवेदीको ८२ वर्षको उमेरमा निधन भएको हो। उनको मुम्बइस्थित हृदयघातबाट मंगलबार राति निधन भएको पारिवारिक सदस्यले जानकारी दिएको छ । ८२ वर्षीय अभिनेता अरविन्दले पौराणिक टेलिश्रृंखला रामायणमा उनी लंकाका राजा रावणको भूमिका निभाएका थिए ।

– बलिउड अभिनेत्री उर्वशी रौटेला विभिन्न कारणले चर्चामा आइरहने कलाकार हुन्। चलचित्रमा खासै चर्चा बटुल्न नसकेकी उनी विभिन्न गतिविधि र तस्बिरका कारण चर्चामा आइरहन्छिन्। उनी अहिले मार्सल आर्ट्स सिकिरहेकी छन्। उनले आफूले सिकेका टेक्निकहरूलाई सामाजिक सञ्जालमा पनि सेयर गर्दै आइरहेकी छन्। उर्वशीले आफ्नो नयाँ चलचित्रका लागि मार्सल आर्ट्स सिक्न थालेकी हुन्। उनले एक भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफू अहिले मार्सल आर्ट्स सिक्दै रहेको बताए पनि कुन चलचित्रका लागि यति धेरै मेहनत गरिरहेकी हुन् भने चाहिँ खुलाएकी छैनन्।

– गायिका अस्मिता अधिकारी र गायक अभिनय निरौलाको स्वरमा समावेश ‘हुन्न नभन’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । यो गीतमा निरौलाकै शब्द, योगेन्द्र उपाध्यायको संगीत छ । अष्ट्रेलियामा छायांकन गरिएको गीतको भिडियोमा गायक अभिनय र मोडल रन्जना तिमिल्सिनाको मोडलिङ हेर्न सकिन्छ । ए धिल्लोनको छायांकन रहेको भिडियोमा बी लिङ्देनको सम्पादन र निर्देशन छ ।

– गीतकार दीपक पाठकको नयाँ गीत ‘दैवको लिला’ सार्वजनिक भएको छ । किरण देवकोटाको संगीत र रामभक्त जोजेजुको स्वरमा समावेश यो गीतको भिडियोमा नायक सरोज खनालले अभिनय गरेका छन् । सरोजसहित सुरविर पण्डितको अभिनय रहेको गीतको भिडियोमा रामकुमार केसीको छायांकन, हेम प्रभास अधिकारीको निर्देशन छ ।

– नेपालीहरुको महान् पर्व दशैं भित्रिएसँगै यस सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक भैरहेका छन् । यसैविच, टिका सिवाकोटी, शान्ति श्री परियार, तिलक बस्नेत र संगीता सिवाकोटीको स्वरमा समावेश ‘सलल सलल’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा तिलक बस्नेतको शब्द तथा संगीत छ । सुरेन्द्र बसेलको निर्देशनमा तयार भएको यो गीतमा हरिश निरौला, जुना सुन्दास, लक्ष्मी गिरी, कुष्ण सिवाकोटीको अभिनय छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*