Thursday, October 28th, 2021
विदेशमा आज

विदेशमा आज

– अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि पहिलोपटक अमेरिका र तालिबानबीच प्रत्यक्ष वार्ता भएको छ । गत अगष्टमा तालिबानले अफगानिस्तानमा कब्जा जमाएको थियो । त्यसको केही समयपछि तालिबानले आफ्नो सरकार घोषणा गरेको थियो । त्यसपछि पहिलोपटक कतारको राजधानी दोहामा तालिबान र अमेरिकी प्रतिनिधिबीच भेटवार्ता भएको हो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका उपनिर्देशकको अध्यक्षमा एक उच्चस्तरीय प्रतिनिधिमण्डलले दोहामा तालिबानका अधिकारीहरुसँग वार्ता गरेको हो । वार्ताको क्रममा विदेशी नागरिकलाई सुरक्षित घर फर्काउने, तालिबानको सरकार समावेशी बनाउने र महिला अधिकारको सम्मान गर्ने लगायतका मुद्दामा चर्चा भएको थियो । यो वार्ता आइतबार पनि जारी रहनेछ ।

– पाकिस्तानलाई परमाणु शक्ति राष्ट्र बनाउन नेतृत्व गरेका परमाणु वैज्ञानिक अब्दुल कादिर खानको निधन भएको छ । पाकिस्तानमा परमाणु कार्यक्रम सञ्चालन गर्न मुख्य भूमिका खेलेका खानको ८५ वर्षको उमेरमा आइतबार बिहान उपचारको क्रममा निधन भएको हो ।

– भारतीय सेना प्रमुख एमएम नरावाणेले लद्दाखस्थित ‘एलएसी’ (लाइन अफ एक्चुअल कन्ट्रोल)मा चिनियाँ सेनाले निर्माण कार्य जारी राखेमा आफ्ना सैनिकहरु पनि त्यस क्षेत्रमै रहने चेतावनी दिएका छन् ।

– कंगोको नदीमा डुंगा दुर्घटना हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु ६९ जना हराइरहेका छन् ।

– चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘ताइवानसँगको एकीकरण पूरा हुनुपर्ने’ बताएका छन् । एउटा भाषणमा राष्ट्रपति सीले शान्तिपूर्ण रूपमा एकीकरण हुनुपर्ने बताएका हुन् ।

– भारत केन्द्रीय सरकारका गृह राज्यमन्त्री अजय मिश्राको छोरालाई प्रहरीले पक्राउ गरेको छ । उत्तर प्रदेशको लखिमपुर खिरीका किसानहरुलाई गाडीले कुल्चिएर हत्या गरेको अभियोगमा गृह राज्यमन्त्री मिश्राको छोरा आशिषलाई प्रहरीले पक्राउ गरेको हो । सो आरोपका सम्बन्धमा शनिबार प्रहरीले उनीसँग १२ घण्टासम्म सोधपुछ गरेको थियो ।

– जोखिम मोलेर अमेरिका जान खोजेका नेपालीसहित १ सय २६ जना आप्रवासीको ग्वाटेमालामा कन्टेनरबाट उद्धार गरिएको छ । सडक छेउमा एउटा कन्टेनरमा अलपत्र छाडिएका १ सय २६ जना आप्रवासीलाई ग्वाटेमालामा प्रहरीले उद्धार गरेको हो ।

– अफगानिस्तानको एक मस्जिदमा आत्मघाती हमला भएको छ। कुन्दुजमा रहेको एउटा मस्जिदमा प्रार्थनाको समयमा भएको सो आक्रमणमा कम्तिमा ५० जना मारिएको जनाइएको छ। त्यहाँ १०० जनाभन्दा बढी घाइते भएको बताइएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*