Thursday, October 28th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थ आयात बन्द गरेको महिनापछि औद्योगिक प्रयोजनका लागि भन्दै अर्को निर्णय गरेको छ । गत भदौ २८ मा राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्णरूपमा रोक लगाउने निर्णय गरेको थियो । सोही निर्णयलाई संशोधन गर्दै यही असोज १८ मा राजपत्रमा सूचना प्रकाशित गरी औद्योगिक प्रयोजनका लागि आयात खुला गरेको मन्त्रालयका प्रवक्ताले बताए ।

– शिवम सिमेन्टले कात्तिक १६ गतेका लागि साधारणसभा आह्वान गरेको छ । गत आर्थिक वर्षका लागि घोषणा गरेको लाभांश पारित गर्न कम्पनीले काठमाडौंको होटल सोल्टीमा छैठौं साधारणसभा बोलाएको हो । गत आर्थिक वर्षको मूनाफाबाट कम्पनीले हाल कायम चुक्ता पूँजीको २९ प्रतिशत अर्थात एक अर्ब २७ करोड ६० लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

– सुनसरीमा निर्माणाधीन ग्याँस इन्सुलेटेड प्रणालीमा आधारित (जीआईएस) ४०० केभी र २२०/१३२/३३ केभी इनरुवा सबस्टेसनको काम धमाधम भइरहेको छ । आगामी पुसभित्र (डिसेम्बर २०२१) निर्माण सम्पन्न गरी संचालन गर्ने ९चार्ज०लक्ष्यका साथ दुवै सबस्टेसनको काम भइरहेको छ ।

– सामाजिक सुरक्षा भत्ता लिने घरपरिवारले विपन्न भत्ता नपाउने भएका छन् । सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमार्फत गरिब घरपरिवारलाई विपन्न भत्ता उपलब्ध गराउने घोषणा गरेको थियो । मन्त्रिपरिषद्मा विचाराधीन रहेको यो कार्यक्रमको कार्यविधि मस्यौदामा सामाजिक भत्ता पाइरहेका एकाघरका व्यक्तिले विपन्न भत्ता नपाउने उल्लेख छ ।

– लगानी बोर्डको शनिबार बसेको ४८ औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब ७३ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृति तथा पूँजीवृद्धि गर्न अनुमति प्रदान गरेको छ । बोर्डका अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सम्पन्न बोर्डको बैठकले सो निर्णय गरेको हो । लगानी स्वीकृति हुनेमा करिब १०.५ अर्ब रुपैयाँ लगानीको दोलखामा अवस्थित ५६ मेगावाट क्षमताको जुमखोला जलविद्युत् परियोजना र सङ्खुवासभामा अवस्थित हाल निर्माणको चरणमा रहेको ९०० मेगावाट क्षमताको अरुण ३ जलविद्युत् परियोजनामा ६२.२६ अर्ब रुपैयाँको पूँजी वृद्धि गर्न स्वीकृति प्रदान गरेको बोर्डले जनाएको छ ।

– सरकारले सहुलियत दरमा बिक्री गर्ने खसीबोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत आज (शनिबार) बाट खसीबोका बिक्री सुरु हुँदै छ । चाडबाडको मुखमा खसीबोका बिक्रीमा प्रतिकिलो १० रुपैयाँ छुट दिने सरकारी घोषणाअनुसार बिक्रीमूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।

– कृषि सामग्री कम्पनी लिमीटेडले चीनबाट झिकाएको ४० हजार मेट्रिकटन रसायनिक मल पैठारी हुन सकेको छैन । हिउँदे बालीका लागि झिकाइएको ३५ हजार मेट्रिकटन युरिया र पाँचहजार मेट्रिकटन डीएपीसहित ४० हजार मेट्रिकटन रसायनिक मल पठाउन चिनीयाँ पक्षले तत्परता नदेखाएकाले रोकिएको मलका ठेकेदार सिल्क ट्रान्स्पोर्ट प्रालिका अध्यक्षले बताए ।

– उखु किसानहरूले अहिलेसम्म पनि भुक्तानी पाएका छैनन् । २०७१ सालदेखिकै करिब १३ करोड रुपैयाँ उद्योगीले अझै पनि किसानलाई दिएका छैनन् । बक्यौता रकम तुरुन्तै नदिए दसैंपछि आन्दोलन चर्काउने उखु किसान संघर्ष समितिका संरक्षकले बताए।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*