Thursday, October 28th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– नायिका मलिका महत्तले चलचित्र ‘सत्यम्’मा काम गर्ने पक्का भएको छ । नायक राजेश हमालको शिर्ष भूमिका रहने यो चलचित्रमा मलिकाको जोडी भने नायक पल शाहसँग बाँधिनेछ । पल र मलिकाको जोडीले म्युजिक भिडियोमा समेत चर्चा पाइरहेकाले दर्शकले उनीहरुलाई ठूलो पर्दामा हेर्न चाहेका थिए । चलचित्र ‘यात्रा’बाट यो क्षेत्रमा पाइला राखेकी मलिकाले दोश्रो चलचित्रको रुपमा ‘पानी फोटो’मा काम गरिरहेकी छिन् । चलचित्रको कथावस्तु र आफ्नो भूमिका मन परेपछि काम गर्न राजी भएको मलिका बताउँछिन् ।

– नायक सलोन बस्नेतले केही दिन अगाडि एक अन्तरवार्तामा ‘महानायकको परिभाषा के हो’ भन्ने अभिव्यक्ति दिएपछि उनको चर्को आलोचना भयो । पिता शोभित बस्नेतले यो विवादमा माफी मागेपछि सलोन विवादमा मुछिएका थिए । अब, उनै सलोनले सामाजिक संजालमा माफी मागेका छन् । उनले, आफूले सोच्न नसकेको र हडबडाहटमा बोल्न नजानेको बताएका छन् ।

– नेपाली चलचित्रमा कुनै समय आफ्नो निर्देशनबाट चर्चा कमाएका निर्देशक दीपक श्रेष्ठ करिब ८ बर्षपछि पर्दामा फर्किएका छन् । उनले चलचित्र ‘घिन्ताङ’को छायांकनको काम सकेर बसेका छन् भने म्युजिक भिडियो निर्देशनलाई पनि अगाडि बढाइरहेका छन् । उनै, दिपकको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । किरण गजमेर र अस्मिता अधिकारीको स्वर, दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल रक्षा बुढाथोकीले रोमान्स गरेका छन् ।

– निर्माता भुवन केसी र उनको टिमले ‘द सुपर काजोल फिल्म्स’बाट ‘ड्रिम्स, क्याप्टेन’ लगायतका चलचित्र निर्माण गरिसकेको छ । नेपालकै प्रतिष्ठित ब्यानरको रुपमा स्थापित यो टिमले अब आफ्नै युट्युब च्यानल समेत सुरु गरेको छ । ‘सुपर काजोल फिल्मस्’कै नाममा सुरु गरिएको च्यानलमा आफूले निर्माण गरेका चलचित्र, ती चलचित्रका गीत, ट्रेलरका साथमा चलचित्र मेकिङका भिडियो तथा विभिन्न सामाग्री सार्वजनिक गर्ने निर्माता तथा निर्देशक भुवन केसीले जानकारी दिए ।

– गायिका मेलिना राइको स्वर, बसन्त सापकोटाको शब्द तथा संगीतमा तयार भएको ‘तिम्रै हुन मन लाग्यो’ बोलको गीतको भिडियो आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । यो गीतको भिडियोमा प्रकाश सपुत, मिरुना मगरको मुख्य भूमिका छ । देवन्द्र बब्लुको निर्देशनमा तयार भएको यो भिडियोमा सार्जन थापा मगरको कोरियोग्राफी, अनिल के मानन्धरको छायांकन, प्रविण भट्टको सम्पादन छ ।

– विश्वका ११३ देशमा सञ्चालन भइरहेको फ्रेन्चाइज रियालिटी शो ‘द भ्वाइस किड्स’ अब नेपालमा पनि भित्रिएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कात्तिकको दोस्रो साताबाट हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेिख हिमालय टीभीबाट ‘द भ्वाइस अफ किड्स’ प्रसारण हुने जानकारी गराइएको छ । विश्वको चर्चित रियालिटी शोको रुपमा स्थापित ‘द भ्वाइस किड्स नेपाल’मा ६ देखि १४ वर्ष उमेरभित्रका बालबालिका सहभागी छन् । अहिले बालबालिकाको प्रि अडिसन चलिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । डिजिटल अडिसनमा १० हजार भन्दा बढी बालबालिका सहभागी भएको र यसबाट छनोट भएका १४ वर्ष भन्दा कम उमेरका बालबालिकाले ‘ब्लाइन्ड अडिसन’मा सहभागी हुनेछन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*