Monday, November 29th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । अधिल्लो दिन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज प्रतितोला एक हजार ६०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० रुपैयाँ कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ ।

– आर्थिक वर्ष २०७७र७८ सकिएको चार महिना बितिसक्दा पनि धेरै निकायले खर्चको विवरण नबुझाएको पाइएको छ । समयमा नै विवरण नबुझाउनेमा राष्ट्रपति कार्यालय, संघीय संसददेखि विभिन्न संवैधानिक आयोगहरुसमेत छन् । खर्चको विवरण नबुझाउने निकायलाई महालेखा नियन्त्रकको कार्यालयले मिति तोकेरै विवरण बुझाउन ताकेता गरेको छ । राष्ट्रपति कार्यालयदेखि संवैधानिक आयोगलाई मंसिर १२ देखि १४ गतेसम्म वार्षिक केन्द्रीय हिसाब भिडानको मिति तोकिएको छ ।

– नेपाली चिया आयातमा रोक लगाउने भारतको तयारीले साढे तीन अर्ब रुपैयाँको व्यापार गुम्ने जोखिम बढेको छ । नेपाली चियालाई प्रतिबन्ध लगाउन भारतले आयातकर्तामाथि विभिन्न अवरोध लगाउन थालेपछि नेपाली चियाको बजार गुम्ने खतरा बढेको हो ।

– कमलादीस्थित काठमाडौं प्लाजाको भाडा विवाद नटुंगिँदा नेपाल ट्रष्टले करिब १० करोड रुपैयाँ गुमाएको छ । सर्वोच्च अदालतले समयमै फैसला नगर्दा डेढ वर्षदेखि काठमाडौं प्लाजा भाडामा लाग्न सकेको छैन । अदालतमा पुगेको विवादको छिनोफानो नभएपछि काठमाडौं महानगरपालिकालाई भाडामा दिने सरकारको निर्णय पनि कार्यान्वयन हुन सकेको छैन । यो अलमल भएको १७ महिनाको अवधिमा करिब १० करोड २० लाख रुपैयाँ भाडा गुमेको छ ।

– सरकारी तवरबाटै इजरायल जाने श्रमिकसँग स्वास्थ्य परीक्षणमा चर्को शुल्क असुलिएको छ । सरकारले तोकेका निजी स्वास्थ्य संस्थाले प्रतिकामदार ८ हजार ९ सय रुपैयाँ शुल्क लिएका छन् । सरकारले इजरायलसँग श्रम समझदारी गरेर पठाउन लागे पनि केयरगिभर कामदार आफैंले मेडिकल शुल्क तिर्नुपर्ने व्यवस्था गरेको छ ।

– आर्थिक वर्ष २०७७/७८ मा ५७६ ठेक्का अलपत्र परे । सडक विभाग र मातहतका कार्यालयबाट व्यवस्थापन भएका ठेक्का प्रदेश सरकारलाई हस्तान्तरण गर्न ढिलाइ हुँदा ती ठेक्का अलपत्र परेका हुन् ।

– सडकसम्बद्ध नेपाली इन्जिनियरहरुले पहिलो पटक नेपालमै बनिरहेको सुुरुङमार्गमा तालिम लिने मौका पाएका छन् । सडक विभागले पहिलो चरणमा १५ जना इन्जिनियरलाई नागढुंगामा जापानी सहयोगमा बनिरहेको सुरुङमार्गमा लगेर तालिम गराएको हो ।

– कार्तिकमा परेको बेमौसमी बर्षाका कारण पाल्पाका कृषकको धान खेतीमा ठूलो नोक्सानी भएको छ। ३ दिनसम्म परेको अविरल बर्षाका कारण पाल्पाका कृषकका ३ करोड ४० लाख रुपैयाँ बराबरको धान नोक्सान भएको छ। पाल्पाका १० वटै पालिकामा १ हजार २ सय ७६ जना कृषकको धान खेतीमा नोक्सान भएको कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुखले बताइन्।

– चीन सरकारको आर्थिक र प्राविधिक सयोगमा निर्माणाधीन रसुवा(टिमुरे सुख्खा बन्दरगाहको काम कोरोना महामारीका कारण प्रभावित बनेको छ । ३० महिनामा निर्माण सक्ने लक्ष्यसहित २०७६ मंसिर ४ गते शिलान्यास गरिएको परियोजनाको भौतिक प्रगति १८ प्रतिशत मात्रै रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

– चालु आर्थिक वर्षको पहिलो चार महिनामै बैंक तथा वित्तीय संस्थाले करिब ३ खर्ब ८७ अर्ब रुपैयाँ थप कर्जा विस्तार गरेका छन् । यो राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि तय गरेको वार्षिक लक्ष्यको ४९ प्रतिशतभन्दा केही बढी हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षमा १९ प्रतिशतका दरले निजी क्षेत्रतर्फ कर्जा विस्तार गर्ने लक्ष्य राखेको थियो । उक्त लक्ष्यको आधाभन्दा धेरै कर्जा बैंक तथा वित्तीय संस्थाले पहिलो चार महिनामै प्रवाह गरेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*