Monday, November 29th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र ‘गुञ्जन’को निर्माण युनिट दुबई पुगेको छ । चलचित्रमा समावेश ‘सास चल्छ पल पल तिम्रै मायाको’ बोलको गीतको भिडियो छायांकनका लागि निर्माण टिम दुबई पुगेको हो । चलचित्रका निर्देशक अष्ट महर्जन, निर्माता हिराकृष्ण महर्जनको साथमा मुख्य कलाकारहरु प्रितमराज सेन्चुरी र नायिका सारा सिर्पाली दुबई पुगेका हुन् ।

– नायिका एलिजा गौतमले पहिलो चलचित्र ‘अनुराग’मा नयाँ नायकसँग काम गरिन् । उसो त यो चलचित्रमा काम गर्दा एलिजा पनि नयाँ नै थिइन् । एलिजा अब दोस्रो चलचित्र ‘घुइँचो’मा पनि नयाँ नायकसँग काम गर्दैछिन् । हुन त, उनले काम गर्न लागेको चलचित्र ‘घुइँचो’का नायक कुन्साङ बोम्जन संगीत क्षेत्रका लागि भने नयाँ होइनन् । कुन्साङले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् । कुन्साङले पहिलो चलचित्रमा एलिजासँग सहकार्य गर्न पाउँदा आफू उत्साहित भएको बताएका छन् ।

– लोक संस्कृतिको पहिचानसँगै लुकेर रहेका प्रतिभाहरुलाई बाहिर ल्याउने उद्देश्यले काठमाडोंमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव २०७८’ हुने भएको छ । चैतको दोस्रो हप्ता पाँच दिनसम्म काठमाडौंको टुँडिखेलमा महोत्सव गर्न लागिएको आयोजक डीएआर मूभिजका सञ्चालक समिति सदस्य श्याम धितालले जानकारी दिए । महोत्सवमा दुई सय बढी स्टल रहने, विभिन्न जिल्लाको स्थानीय कला(संस्कृति झल्कने झाँकीदेखि विभिन्न जिल्लाका स्थानीय कलालाई देखाउने गरी कार्यक्रम गरिने उनले बताए ।

– धर्मा प्रोडक्सनले नयाँ चलचित्र निर्माणको घोषणा गरेको छ । धर्माले निर्माण गर्न लागेको नयाँ चलचित्रको नाम ‘मिस्टर एण्ड मिसेस माही’ राखिएको छ । यो चलचित्रको शीर्ष भूमिकामा नायक राजकुमार राव र नायिका जान्हवी कपुर देखिँदैछन् । यो चलचित्र क्रिकेटको कथामा निर्माण हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चलचित्रको प्रदर्शन मिति सन् २०२२ अक्टोबर ७ तारिखमा रिलिज हुँदैछ ।

– बलिउड अभिनेता टाइगर श्राफ विशेषगरी वर्कआउट गरेको तस्वीर र भिडियो सामाजिक सञ्जालमा शेयर गरिरहन्छन् । तर, हालै उनले बेलायतको लण्डनको सडकमा डान्स गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा शेयर गरेका छन् । भिडियोमा उनले आफ्नो आकर्षक शरीर त देखाएका छन् नै, आफ्ना म्यानेजरलाई समेत रोकेर सडकमै डान्स गर्न शुरु गरेको देखिन्छ । टाइगरको यो शैलीको अहिले निक्कै चर्चा भइरहेको छ ।

– चलचित्र ‘सूर्यवंशी’ले उत्साहजनक व्यापार गरेपछि चलमलाएको बक्स अफिस अर्को चलचित्र ‘बन्टी और बब्ली २’को व्यापारले भने सुस्ताएको छ । यशराज ब्यानरले निर्माण गरेको यो चलचित्रले बक्स अफिसमा राम्रो कमाइ गर्ने अपेक्षा गरिएको थियो । तर, चलचित्रको समीक्षा खराब आएपछि यसको व्यापारमा पनि प्रत्यक्ष प्रभाव परेको छ । समीक्षक र दर्शकबाट नै फितलो समीक्षा पाएका कारण रानी मुखर्जी, सैफअली खान लगायतका कलाकारको अभिनय रहेको चलचित्रले शुक्रबार २.६० करोड भारुको मात्रै व्यापार गर्न सक्यो । शनिबार चलचित्रले २.५० करोडको कमाइ गरेको छ । आइतबारको व्यापार सार्वजनिक नभएपनि चलचित्र बक्स अफिसमा पूर्ण रुपमा असफल हुने देखिएको छ ।

– भारतीय गायिका नेहा कक्कड यतिबेला आफ्ना पति रोहनप्रीत सिंहसँग पेरिसमा छुटु्टी मनाइरहेकी छन् । सामाजिक सञ्जालमार्फत उनले घुमघामका थुप्रै तस्वीरहरु सार्वजनिक गरिरहेकी छन् । आइफेल टावरमा खिचेको तस्वीरमा नेहा निक्कै सुन्दर देखिएकी छन् ।

– अस्कर इन्टरनेशनल कलेजले फिल्म फेस्टिभल गर्ने भएको छ। कलेजले चलचित्र विकास बोर्डसँग मिलेर दुई दिने फिल्म फेस्टिभल गर्ने भएको हो। मंसिर १० र ११ गते चलचित्र विकास बोर्डको हलमा फेस्टिभल गर्न लागेको कलेजका प्रिन्सिपल रामराजा दाहालले जानकारी दिए। उनका अनुसार अस्कर कलेजले केही वर्ष अघिदेखि गर्दै आएको फेस्टिभललाई निरन्तरता दिने उद्देश्यले आउँदो शुक्रबार र शनिबार फेस्टिभल गर्न लागेको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*