Monday, November 29th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्षमा उम्मेदवारी दिने घोषणा फिर्ता लिन भीम रावललाई आग्रह गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता बस्नेतलले १०औं महाधिवेशनबाट ओलीलाई सर्वमान्य नेताको रुपमा अगाडि बढाउन चाहेको बताए ।

– नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा जारी बैठक यही मंसिर १० गतेदेखि चितवनमा सुरु हुने महाधिवेशनको तयारीमा केन्द्रित छ ।

– नेपाल बार एसोसिएसनलगायत विभिन्न पेसागत संगठनको सहभागितामा बिहीबार सर्वोच्च अदालतदेखि बालुवाटारसम्म ‘मार्चपास’ गरिने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठका अनुसार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध हुने उक्त मार्चपासमा सबै पेसागत संगठनका साथै सर्वसाधारणको पनि सहभागिता रहने छ ।

– नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले गृहजिल्ला सुर्खेतबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन् । खड्काले मंगलबार खुला पुरुषतर्फ सुर्खेत निर्वाचन क्षेत्र नम्बर एकबाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका हुन् ।

– डडेल्धुराको परशुराम नगरपालिकाका मेयर भीमबहादुर साउँद नेपाली कांग्रेसको जिल्ला सभापतिमा निर्वाचित भएका छन् । सोमबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट साउँद सभापति पदका अर्का उम्मेदवार चुुडामणि ठकुुराठीलाई पराजित गर्दै निर्वाचित भएका हुन् ।

– अधिवक्ता तथा मानव अधिकार आयोगकी पूर्व सदस्य मोहना अन्सारीले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई एकदिन पनि पदमा बस्ने अधिकार नभएको बताएकी छिन् । मंगलबार प्रधानन्यायाधीश जबराविरुद्ध विरोध प्रदर्शन गरिरहेको नेपाल बार एसोसिएसनको सर्वोच्च अदालतमा आयोजित कोणसभालाई सम्बोधन गर्दै अन्सारीले भ्रष्टाचारको आरोप लाग्दा पनि पदमा बसिरहनु विडम्बना भएको बताइन् ।

– प्रहरी हिरासतमा मृत्युका घटना रोक्न एम्नेस्टी नेपालले सरकारलाई आग्रह गरेको छ । हिरासतमा मृत्युका घटना रोक्नका लागि नेपालका अधिकारीहरूले उचित कानुनी जवाफदेहिताका उपायहरूसमेतका माध्यमबाट तत्काल र प्रभावकारी कदमहरू चाल्नुपर्ने एम्नेस्टी इन्टरनेसनल नेपालले जनाएको छ।

– तरुण दल अध्यक्ष जितजंग बस्नेत र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्

– सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् । सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकाभित्र देखिएका समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध पक्ष गम्भीर हुनुपर्ने बताएका हुन् ।

– बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष लालप्रसाद बस्यालको मृत्यु भएको छ । सोमबार दिउँसो आफ्नै घरको शौचालय जाने क्रममा लडेर घाइते भएका ७३ वर्षीय बस्यालको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

– राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेव मन्दिरमा पूजाअर्चना गरेकी छिन् । राष्ट्रपति भण्डारी पूजाअर्चना र दर्शनका लागि आउने भएपछि नेपाली सेनाले गुफाबाट पानी बाहिर निकालेको र त्यसपछि राष्ट्रपति भण्डारी गुफागृहमै प्रवेश गरेर पूजाअर्चना गरेकी हुन्।

– कांग्रेसको भोजपुर जिल्ला सभापतिमा विनोद बान्तावा निर्वाचित भएका छन् । १४ औँ महाधिवेशनअन्तर्गत सोमबार भएको अधिवेशनले बान्तावालाई जिल्ला सभापतिमा चयन गरेको हो ।

– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आगामी आम निर्वाचनमा आफू चितवनबाटै उम्मेदवार बन्ने बताएका छन्।

– पूर्वी नवलपरासीबाट उद्योगपति एवं संघीय सांसद विनोद चौधरी कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका छन् । निर्वाचन अधिकृत चुडामणि कँडेलका अनुसार मधेशी, अल्पसंख्यक समुदायको कोटाबाट चौधरी सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*