Monday, November 29th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– छोरालाई एसिड प्रहार गरेको आरोपमा बाबु पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोलु दुधकुण्ड नगरपालिका(५ सल्लेरी बस्ने ५० वर्षीय मोहन बराईली रहेका छन् । २५ वर्षीय छोरासहित २ जनालाई एसिड प्रहार गरी घाइते बनाएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

– पश्चिम नवलपरासीको सुनवल नगरपालिका-४ रमवापुरमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट २ जनाको मृत्यु भएको छ । सुनवल नगरपालिका १० का २६ वर्षीय दुर्गा काफ्ले र ४० वर्षीय टिकानाथ कुँवरको मृत्यु भएको हो ।

– विभिन्न विमानस्थलमा बाक्लो हुस्सु लागेसँगै आन्तरिकतर्फको उडान आज बिहानैबाट प्रभावित भएको छ । कम भिजिविलिटीका कारण काठमाडौंबाट तुम्लिङटार, पोखरा र जनकपुरका लागि निर्धारित उडानहरु डिले (ढिलाइ) भएको काठमाडौं विमानस्थलले जनाएको छ ।

– सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीमा हुँदा तीन जना बालकको मृत्यु भएको छ । गाउँपालिका-७ सुर्सिङ गाउँको झाक्रिटोलमा स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरूको मृत्यु भएको हो । मृत्यु हुनेमा सञ्च तामाङका छोरा ६ वर्षीय मनोज तामाङ, सोही गाउँका सुकमान तामाङका छोरा पाँच वर्षीय मनिष तामाङ र सोही गाउँका साइला तामाङका छोरा पाँच वर्षीय दिलबहादुर तामाङ रहेको प्रहरी नायब उपरीक्षकले जानकारी दिए ।

– वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउन नपाइने भएको छ । ध्वनी प्रदूषण नियन्त्रण गर्न यस्तो नियम ल्याइएको महानगरपालिकाले जनाएको छ ।

– सर्लाही प्रहरीले बलात्कार प्रयासको आरोपमा एक जनालाई पक्राउ गरेको छ । ब्रहमपुरी गाउँपालिका वडा-७ नोकैल्वामा एक महिलामाथि बलात्कारको प्रयास गर्ने सोही ठाउँका ३८ बर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको सर्लाही प्रहरीका प्रबक्ता एवं डीएसपीले जानकारी दिए ।

– डोटीको बोगटान फुड्सिल गाउँपालिका–१ उल्टेपानीमा कुटपिटबाट एक जनाको ज्यान गएको छ । कुटपिटबाट ४९ वर्षीय धनबहादुर मगरको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षकका अनुसार स्थानीय टेकबहादुर मगरको घर छाएर खाना खाने क्रममा ३२ वर्षीय मिलन मगर र धनबहादुरबीच विवाद भएको थियो । मिलनको कुटाइबाट धनबहादुर गम्भीर घाइते भएको र उपचारका लागि दिपायल ल्याउँदै गर्दा बीच बाटोमै ज्यान गएको हो।

– कैलालीमा मोटरसाइकलको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका-४ को राजीपुरमा मोटरसाइकलको ठक्करबाट सोही ठाउँका ५५ वर्षीय धनबहादुर नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*