Monday, November 29th, 2021
चरम गरिबीबाट प्रसिद्धी कमाउन सफल ‘मनी पक्याओ’

चरम गरिबीबाट प्रसिद्धी कमाउन सफल ‘मनी पक्याओ’

खेल जगतको संसार त्यस्ता थुप्रै सत्य कथाहरुले भरिएको छ, जसले हामीलाई जीवनमा केही गर्ने प्रेरणा प्रदान गर्छ । थुप्रै यस्ता खेलाडीहरु छन् , जो गरिबीसँग लड्दै कुनै व्यावसायिक प्रशिक्षण बिना नै आफ्नो आत्मबलको भरमा निकै अघि बढ्न सफल भएका छन् । आज हामी त्यस्तै एक प्रेरक व्यक्तित्व बक्सिङका बादशाह मनी पक्याओका बारेमा जान्नेछौ ।

मनी पक्याओको जन्म सन् १९७८ सेप्टेम्बर १७ मा फिलिपिन्सको किबावे बुकिड्ननमा भएको हो । उनी ६ जना दाजु भाइ तथा दिदिबहिनीमा साहिला थिए । सानो छँदा मनीको नाम इमानुएल थियो । उनको परिवार जहा बस्थ्यो त्यहाँ रोजगारको अवसर कम भएकाले गरिबी चरम सीमामा थियो र आपराधिक गतिविधि पनि निकै हुने गथ्र्यो । इमानुएल जब कक्षा ४ मा पढ्थे, त्यसबेला नै उनका बुबा र आमाको डिभोर्स भयो । त्यसपछि त झन् उनको परिवारको जीवन कष्टकर बन्न पुग्यो । उनकी आमा आफ्ना ६ जना छोरा छोरी बोकी आफ्नो भाइ कहाँ गइन् र सबै जना त्यही बस्न थाले ।

निकै गरिबीमा जीवन बितेकाले मनीले पैसाको मूल्य राम्रो सँग थाहा पाए । उनी सानै देखि पैसा कमाउन चाहन्थे । पैसा कमाउने उनको दृढ चाहना देखेर नै उनको नाम मनी रहन पुग्यो । मनी जहाँ बस्थे, त्यहाँ जसको बल छ, उसको राज चल्थ्यो । सानै छँदा नै मनीले जीवनको तितो सत्यको अनुभव लिए र थाहा पाए कि जीवन जीउनका लागि लडाई गर्नु पर्नेछ । आफ्नो परिवारको आर्थिक मद्दत गर्नका लागि उनले बक्सिङ खेल्नु भन्दा राम्रो अर्को अवसर देखेनन् । बक्सिङ खेल्नका लागि उनले व्यायाम गर्न थाले । धेरै हाइट नभएका कारण साथीहरु उनको खिल्ली उडाउने गर्थे तर उनी भित्र जित्ने तीव्र चाहना थियो र यसैले उनलाई अरु भन्दा फरक बनायो ।

सुरुवात्मा उनी आफ्ना परिवारको आर्थिक मद्धत गर्न स्ट्रीट फाइट खेल्थे । जसमा जित्दा उनले सय पेसो र हार्दा पचास पेसो पाउने गर्थे । जित्दा बढी पैसा पाउने आसले गर्दा जित्न उनी आफ्नो ज्यानको बाजी नै लगाउने गर्थे । यसले गर्दा जित्नु उनको आदत बन्दै गयो । आफूले जितेर ल्याएको आधी पैसा उनी आफ्नी आमालाई दिने गर्थे । यस बिच स्कुलको फि तिर्न नसकेका कारण उनको पढाई पनि बिचमै छुट्यो र मात्र लडाई गर्नु उनको जविन बन्न पुग्यो ।

चरम गरिबीले गर्दा दिक्क बनेर एक दिन उनी धेरै पैसा कमाउने चाहनामा घर छोडेर फिलिपिन्सको राजधानी मनिला पुगे । त्यस बेला उनी १४ वर्ष मात्र पुगेका थिए । उनी सँग बास बस्ने कुनै घर थिएन र खुला आकाश मुनि नै थुप्रै रातहरु बिताए । कुनै भने जस्तो काम नपाएकाले उनले पेट पाल्नका लागि कबाडीको काम पनि गरे तर यस बेला पनि उनले मनिलाको गल्लीहरुमा हुने बक्सिङ कम्पिटिसनमा भाग लिई रहे । उनको यस्तै फाइट देखेर उनलाई राष्ट्रिय टिममा छनोट गरियो । यहाँ देखि नै उनको जीवन पूर्ण रूपमा परिवर्तन भयो ।

अब उनलाई खाने र बस्ने कुनै चिन्ता थिएन । सरकारले उनलाई सुविधा दिएको थियो र उनको पुरा ध्यान जित्नमा फोकस थियो । बिस्तारै उनको बक्सिङ अझै सुधारिदै गयो र उनले राष्ट्रिय ६४ खेल मध्य ६० वटामा जीत प्राप्त गरे । यस बिच उनी फिलिपिन्सका प्रतिभाशाली र सिनियर बक्सरहरु माझ रहे, जसले गर्दा उनको बक्सिङ अझ निखारिन पुग्यो । त्यहाँ उनले युगेन बरुताग भन्ने एक बक्सर साथी बनाए । दुवै कम समय मै निकै घनिष्ट साथी बन्न पुगे तर बरुतागको एउटा खेलका क्रममा १६ वर्षको उमेरमा मृत्यु हुन पुग्यो । यसले मनी माथि निकै गहिरो असर प¥यो । ती दुवैको इच्छा प्रोफेशनल बक्सर बन्ने थियो । साथीको मृत्युले गर्दा झन् उनको संकल्प दृढ भयो र सो¥ह वर्ष पुग्ना साथ उनी प्रोफेशनल बक्सिङ्गमा उत्रे ।

उनी प्रोफेशनल बक्सिङमा तीव्र रूपमा अघि बढ्न चाहन्थे तर स्टार्टिङका लागि उनको तौल १०५ पाउन्ड हुनु पथ्र्यो र मनीको तौल ९५ पाउन्ड मात्र थियो । यसले गर्दा उनी वेट नाप्दा आफू सित केही तौल लुकाएर राख्ने गर्थे । मनीको पहिलो प्रोफेशनल म्याच एडमन्ड इग्नेसियो सँग थियो । चार राउन्ड मै उनले म्याच जिते । उक्त सो टिभीमा पनि देखाइदै थियो । त्यस पछि उनी रातारात स्टार भए । यसले मनीको आत्मविश्वासमा पनि निकै वृद्धि भयो र उनले त्यस पछि पछाडि फर्केर हेरेनन् । चाँडै नै उनले तौल बढाए र लगातार पन्ध्र वटा म्याच जिते । त्यसपछि उनले आफ्नो करियरको पहिलो टाइटल OPBF Fly weight जिते । मनीको संसार भर थुप्रै फ्यानहरु छन् । उनी आक्रामक तरिकाले खेल्छन् । भगवान् माथि उनी निकै श्रद्धा राख्छन् र जीवनमा जे पाएको छु, ईश्वरकै देन हो भन्ने गर्छन् । उनी जहिल्यै रिंगमा उत्रिनु अघि भगवानलाई सम्झिने गर्छन् । मनीले फिलिपिन्सलाई संसार माझ चिनाएका छन् । उनी आज फिलिपिन्सका सबैभन्दा प्रसिद्ध खेलाडी हुनुका साथै सफल व्यवसायी, राजनीतिक नेता पनि हुन् तर उनले कहिल्यै आफ्नो सफलतामा घमण्ड गरेनन् । उनी आफ्ना फ्यानहरुलाई जविनमा कहिल्यै हार नमान्न प्रेरित गर्छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*