Monday, November 29th, 2021
नानीहरुलाई पढाईमा मन लगाउने उपाय

नानीहरुलाई पढाईमा मन लगाउने उपाय

सुखद बाल्यकालका लागि अभिभावकको गाली र मायाका साथै सही मार्ग दर्शन पनि आवश्यक हुन्छ । नानीहरूका लागि पढाई बोझ नबनोस् , यसका लागि अभिभावकले विशेष ध्यान दिनु पर्छ । यदि अभिभावकले नानीहरूलाई पढ्नु पर्छ भनेर दबाब दिन थाले भने उनीहरूको मन स्कुल र पढाइबाट विरक्तिन थाल्छ र उनीहरू स्कुल नजान बहाना बनाउन थाल्छन् । उनीहरूलाई स्कुलमा गएर पढ्नु र होमवर्क गर्न सजाय सरह महसुस हुन्छ । यदि अभिभावकले चाहने हो भने नानीहरूको नीरस पढाई उत्सुकतामा परिणत हुन सक्छ र स्कुलमा प्राप्त होमवर्क पुरा गर्नका लागि शारीरिक र मानसिक रूपमा उनीहरूलाई तयार गर्न सकिन्छ । यसबाट उनीहरूको भविष्य उज्वल बन्न सक्छ । यसका लागि अभिभावकले निम्न कुराहरूमा ध्यान दिनु पर्छ ।

– नानीहरूलाई सानै देखि राम्रा आदतहरु तथा शिष्टाचार सिकाउनु पर्छ । उनीहरूको दिनचर्या सही तरिकाको बनाउनु पर्छ । जसबाट नानीहरूले आफ्नो काम आफै सही समयमा गर्न सिकुन् । यसबाट उनीहरूले समयको कदर गर्न सिक्नेछन् । आमा नै नानीहरूको पहिलो शिक्षक हुन् । त्यसैले आमाले हरेक क्षण नानीहरूको मार्गदर्शन गरी रहनु पर्छ ।

– परिवार द्धारा दिइएको राम्रो संस्कार जीवन भर साथ रही रहन्छ र यसले नानीहरूको भविष्य सुन्दर बनाउछ ।

– नानीहरूलाई पढ्न बस्नु भन्दा अघि पौष्टीक खानेकुराहरु खुवाउनु पर्छ ।

– यदि नानीहरुले पढाई सम्बन्धी कुनै कुरा सिकाई माग्छन् भने सिकाई दिई हाल्नुहोस् किनकि यदि तपाईँले सिकाई दिनु भएन भने उनीहरूले नपढ्ने बहाना पाउछन् ।

– आफ्नो बच्चाको अगाडि अरू बच्चाको प्रशंसा नगर्नुहोस् । यसबाट उनीहरूमा म यसै नराम्रो उसै नराम्रो भन्ने भावनाले जन्म लिन्छ र बिस्तारै उनीहरु ढिठ बन्न पुग्छन् ।

– यदि नानीहरू पढ्न मानी रहेका छैनन् भने हकार पकार वा कुटपिट नगर्नुहोस् । बरु मायालु वातावरण बनाई सम्झाई बुझाई गरेर पढ्न लगाउनु पर्छ ।

– यदि बच्चाले पढ्नु अघि कुनै कुराको माग गर्छन् भने सके सम्म पुरा गर्ने प्रयास गर्नु पर्छ ।

– नानीहरूलाई अभिभावक सँगै बसेर होमवर्क पुरा गर्न लगाउनु पर्छ ।

– यदि नानीहरूको पढाइका लागि घरको काम, घुमफिर वा कुराकानीमा डिस्टर्ब ुन्छ भने हुन दिनुहोस् तर नानीहरूको पढाइमा बढी ध्यान दिनुहोस् किनकि यो नानीहरूको भविष्यसँग जोडिएको हुन्छ ।

– यदि तपाईँको नानीले क्लास टेस्ट वा अतिरिक्त क्रियाकलापमा राम्रो गरेको छ भने उसको प्रशंसा गर्न नछुटाउनुहोस् । यसबाट त्यस सम्बन्धी उनीहरूमा अझ उत्सुकता थपिन्छ ।

– यदि बच्चा पढाइमा निकै कमजोर छ भने शिक्षक सँग पनि उचित सल्लाह माग्नु पर्छ ।

– यदि नानीमा नराम्रो आदत बस्दैछ भने त्यसलाई बेवास्ता नगर्नुहोस् । उसलाई मायालु वातावरणमा सम्झाई सही बाटोमा ल्याउने प्रयास गर्नुपर्छ ।

– घरको वातावरण तनावमुक्त र रमाइलो राख्नु पर्छ । यसबाट नानीहरूलाई पढ्न मन लाग्छ ।

– नानीहरूलाई पढाइको फाइदा बुझाउनु पर्छ । उनीहरू भविष्यमा के बन्न चाहन्छन् , त्यसका लागि पढ्नु पर्छ भन्ने कुरा बुझाउनु पर्छ ।

– यदि नानीहरूको दिमाग कमजोर छ भने दूधमा ब्रेन स्मार्ट पाउडर मिसाई खुवाउनु पर्छ वा चिकित्सकसँग सल्लाह पनि लिन सकिन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*