Monday, November 29th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सरकारलाई कर नबुझाउनेहरूको संख्या र रकम झन् बढेको छ । आन्तरिक राजस्व विभागका अनुसार सरकारले उठाउन बाँकी कर रकम १ खर्ब ७१ अर्ब रुपैयाँ नाँघेको छ । विभागको बक्यौता शाखाका अनुसार गत आर्थिक वर्ष ०७७/७८ सम्ममा सरकारले १ खर्ब ७१ अर्ब ३९ करोड ४६ लाख २६ हजार रुपैयाँ बराबर कर बक्यौता असुल्न बाँकी छ ।

– नेपाली चियालाई दार्जिलिङ ब्रान्ड बनाएर बिक्री गरेको खुलेपछि भारतको केन्द्रीय वाणिज्य मन्त्रालयको निर्देशनमा टी काउन्सिलले नेपाली चियामाथि पुनः प्रयोगशालामा परीक्षण ९ल्याब टेस्ट० गर्ने भएको छ । परीक्षणको नतिजा आएपछि मात्रै नेपाली चियालाई भारतीय बजारमा बिक्री इजाजत दिइनेछ ।

– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी सहयोग परियोजना एमसीसी पारित चाँडो गर्नुपर्ने बताएका छन् । कोरोनापछिको आर्थिक पुनरुत्थानमा महत्वपूर्ण सहयोग पुग्ने भन्दै अध्यक्ष गोल्छाले एमसीसी पारित गर्नुपर्ने बताए ।

– अर्थमन्त्री जनार्दन शर्माले गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालमा डलर खाता खोल्नका लागि लचिलो र सहज वातावरण बनाइने बताएका छन् । मंगलबार राष्ट्र बैंक परिसरमा आयोजित वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे समीक्षात्मक कार्यक्रममा उनले विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सन्तुलनमा राख्न एनआरनलाई डलर खातामा सहजीकरण गर्नेबारे छलफल भइरहेको बताए ।

– मनकामना दर्शन प्रालिद्वारा संचलित मनकामना केबुलकारले टप स्टेशनमा रिसोर्ट बनाउने भएको छ । आगामी फागुनदेखि केबुलकारको टप स्टेशनमा रिसोर्ट निर्माण थालिने कम्पनीका निर्देशकले जानकारी दिए ।

– विद्युत आपूर्ति सहज भएपछि धादिङमा निर्माणाधीन हुवासिन सिमेन्ट उद्योगले अब उत्पादनको तयारी तीव्र पारेको छ । हालै नेपाल विद्युत प्राधिकरणले मर्स्याङदी–स्यूचाटार १३२ केभी प्रसारण लाइन अन्तर्गत धादिङको सिद्धलेक गाउँपालिका–६ मा निर्माण गरिएको स्वीचिङ स्टेसनबाट हुवासिन सिमेन्ट उद्योगलाई २० मेगावाट विद्युत दिएको छ । विद्युत उपलब्धताले डिजेलमा हुने खर्च जोगाउनुका साथै सिमेन्ट उत्पादनको लागत घटाउने उपमहाप्रबन्धकले बताए ।

– सुनको भाउ आज पनि घटेको छ । सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेको हो । हिजो सुनको भाउ तोलामा १६ सय रुपैयाँले घटेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ । यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँ रहेको चाँदी आज १२ सय २५ रुपैयाँमा कारोबार भइको छ ।

– हिउँदमा साढे तीन सय मेगावट विद्युत आयात हुने भएको छ। नेपाल विद्युत प्राधिकरणले पुस, माघ, फागुन र चैतमा उक्त परिमाणमा बिजुली आयात हुन सक्ने अनुमान गरेको हो। पूर्ण जाडो सुरु भइनसकेकाले माग अनुसार विद्युतको आयात अनुमान भन्दा केही थपघट हुनसक्ने प्राधिकरणका प्रवक्ताले बताए।

– अब लघुवित्त कम्पनीहरूले पनि सेयरमा लगानी गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले घ वर्गका वित्तीय संस्थाहरूका लागि एकीकृत निर्देशन जारी गर्दै लघुवित्त कम्पनीहरुलाई कुनै पनि संस्थाको सेयरमा लगानी गर्न प्रतिबन्ध लगाएको हो ।

– निक्षेप र कर्जा परिचालन मात्रै नभई इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा पनि बाग्मती प्रदेशमै केन्द्रित रहेको राष्ट्र बैंकको एक अध्ययनले देखाएको छ । मुलुकको संघीय संरचना अनुसार समग्र वित्तीय सेवा विकेन्द्रित हुन नसक्दा इन्टरनेट र मोबाइल बैकिङ सेवा पनि बाग्मती प्रदेशमा केन्द्रित रहेको अध्ययन प्रतिवेदनले औंल्याएको छ ।

– चामल अभावपछि काठमाडौं आएका हुम्लाका जनप्रतिनिधिले मंगलबार अर्थ र गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् । हुम्लाका सांसद छक्कबहादुर लामा तथा नाम्खा गाउँपालिका ६ का वडाध्यक्ष पाल्जोर तामाङ जिल्लामा भएको खाद्यान्न अभावलाई लिएर मन्त्रीहरुको ध्यानाकर्षण गराउन मंगलबार सिंहदरबार छिरेका थिए ।

– तरलता अभाव बढ्दै जाँदा बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह क्षमता थप कमजोर बन्दै गएको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) औसत ९० प्रतिशत माथि पुग्नुले कर्जा दिने क्षमता घट्दै गएको पुष्टि हुन्छ । राष्ट्र बैंकका अनुसार हाल बैंक तथा वित्तीय संस्थाको सीडी अनुपात औसतमा ९०.१८ प्रतिशत छ ।

– १ असार, २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजना पुनर्स्थापनाका लागि खानेपानी तथा सरसफाइ मन्त्रालयले डेढ अर्बभन्दा बढीको स्रोत सुनिश्चितता मागेको छ । मन्त्रालयले अर्थमन्त्रालयसँग यसअघि बनेको पुनर्स्थापनाको कार्ययोजना बमोजिम नै बजेट माग गर्ने निर्णय गरेको हो ।

– नेपाल टेलिकमले मोबाइल सेवा ग्लोबल सिस्टम अफ मोबाइल कम्युनिकेसन (जीएसएम)मा अनुमतिविनै ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमति नै नलिएको नम्बरको रेन्जमा प्रयोग नगर्न निर्देशन दिएको छ । ९८ को रेन्ज ‘अकुपाइ’ भएपछि टेलिकमले ९७ कै रेन्जमा जीएसएम नम्बर दिन थालेको थियो । तर, अनुमति नलिई ‘९७४’ रेन्जको नम्बर प्रयोग गरेको भन्दै प्राधिकरणले अब यस्तो नगर्न निर्देशन दिएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*