Monday, November 29th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– कोरोना भाइरसका कारण बन्द भएका उद्योग व्यवसायहरु मध्ये ८७ प्रतिशत उद्योग व्यवसाय पूर्ण रुपमा सञ्चालनमा आएको अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार पुनरावृत्ति सर्वेक्षणले २०७७ असारको सर्वेक्षणको तुलनामा उद्योग-व्यवसायको सञ्चालन स्थिति तथा उत्पादन र व्यावसायिक कारोबारमा सुधार आएको देखाएको हो ।

– नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष सिफारिस समिति पुनः गठन हुने भएको छ । यसअघि अर्थ मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट सिफारिस समिति बनाएको थियो । त्यसलाई रोक्दै मन्त्रिपरिषद्बाटै निर्णय गरी पुन समिति गठन गर्न लागिएको स्रोतले बतायो । धितोपत्र ऐनको दफा ७ मा सेबोनको अध्यक्ष छनोटका लागि मन्त्रिपरिषद्बाटै निर्णय गरी सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ ।

– बिहानको समयमा राम्रोसँग आकाश नखुल्दा अधिकांश आन्तरिक उडानहरु प्रभावित भएका छन् । समयमा उडान नहुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुहरुको चाप छ । हुस्सु र कुहिरोका कारण भिजिबिलिटी ९पारदर्शिता० कम हुँदा काठमाडौंबाट हुने उडानहरु हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ । बिराटनगर, भरतपुर, सुर्खेत, पोखरा, धनगढी लगायत क्षेत्रमा आज बिहान निर्धारित उडानमा ढिलाइ भएको छ ।

– झञ्झटिलो ठेक्का प्रक्रियाका कारण उत्तरी गोरखामा अहिलेसम्म चामल ढुवानी हुन सकेको छैन। ठेक्का स्वीकृत नहुँदा उत्तरी गोरखाका बासिन्दाको चामल सदरमुकाममै थन्किएको छ। चामल साउनमै उत्तरी गोरखा पुर्याइनुपर्ने हो। तर, हालसम्म चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ढुवानी गर्न सकेको छैन। कम्पनी र व्यवसायीबीच दरभाउको ‘बार्गेनिङ’ नमिल्दा त्यसको मार दुर्गमका बासिन्दाले भोगिरहनु परेको छ।

– लामो समयदेखि बैंकिङ प्रणालीमा कर्जा र निक्षेप वृद्धिमा असन्तुलन देखिएको छ। कर्जाको माग बढेअनुसार बैंकहरूले ऋण प्रवाह वृद्धि गरे। तर सोही अनुपातमा निक्षेप संकलन गर्न सकेका छैनन्। सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरूको प्रायः पछिल्लो प्रत्येक साता निक्षेप वृद्धि घटेर मंसिर पहिलो सातासम्म ४२ खर्ब २६ अर्ब रुपैयाँमा सीमित छ। पछिल्लो सातामात्रै निक्षेप ८ अर्बले घटेको छ।

– कर्णालीमा इन्धनको आपूर्तिलाई सहज बनाउन भण्डारण डिपो स्थापना गरिने भएको छ। हाल कर्णालीमा ठूलो क्षमताको भण्डारण डिपो छैन। यसले गर्दा एकदिन मात्र इन्धन आपूर्ति नहुँदा कर्णालीमा इन्धनको अभाव हुन्छ। यही समस्याको समाधानका लागि सुर्खेतमा ६ लाख लिटरभन्दा बढी क्षमताको इन्धन (डिजेलरपेट्रोल) को भण्डारण डिपो निर्माण गर्न लागिएको हो।

– अर्थमन्त्री जनार्दन शर्माले देशको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताउनुभएको छ । मन्त्री शर्माले अहिले राजस्वले चालु खर्च पनि धान्न मुस्किल भएको बेला निजी क्षेत्र निजी स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बेला भएको बताउनुभयो ।

– चालु आर्थिक वर्ष ०७८/७९ को पहिलो चौमासिकमा नेपालले गरेको वस्तु आयात ६१.५७ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको यही अवधिको तुलनामा यसवर्ष २ खर्ब ४७ अर्ब ४० करोड रुपैयाँ बराबरले आयात बढेको छ ।

– चार महिनामै मुलुकको व्यापार घाटा ५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ । स्वदेशमै उत्पादन गर्न सकिने बस्तुको समेत आयात बढ्दा मुलुकको व्यापार घाटा उच्च दरले बढेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षको पहिलो चार महिनामा व्यापार घाटा ३ खर्ब ६२ अर्ब रुपैयाँ थियो ।

– शान्ति मिसनमा जाने सेनाले आफ्नो कामको दौरानमा अत्यावश्यक सामान खरिदका लागि आवश्यक पर्ने विदेशी मुद्रा आफूसँगै लान पाउने भएका छन् । राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले शान्ति मिसनमा जाने सेनालाई औचित्य पुष्टि हुने गरी विदेशी मुद्रा सटही सुविधा दिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

– नेपालको निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले पोखरा – भरतपुर नियमित हवाई उडान शुरू गरेको छ । आन्तरिक पर्यटनलाई टेवा पुऱ्याउने उद्देश्यका साथ उडान सुरू गरिएको कम्पनीले जनाएको छ । साथै उडानको पहिलो दिन नै यात्रुहरुबाट पुर्ण सहयोग प्राप्त भएकोले उत्साह मिलेको एयरलाइन्सले जनाएको छ ।

– लघुवित्त वित्तीय संस्थालाई मर्जर तथा एक्वीजिसनका लागि प्रोत्साहन गर्न राष्ट्र बैंकले थप सुविधा दिने नीति ल्याएको छ । नयाँ व्यवस्था अनुसार मर्जर तथा एक्वीजिसनमा जाने संस्थाले एक पटकका लागि काठमाडौं उपत्यका बाहेकको पायक पर्ने स्थानमा केन्द्रीय कार्यालय खोल्नरस्थानान्तरण गर्न राष्ट्र बैंकले स्वीकृति प्रदान गर्नेछ ।

– प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार उद्घाटन गरेको ‘पतञ्जलि नेपाल’ र ‘आस्था’ टेलिभिजनले अहिलेसम्म कुनै प्रसारण उपकरण नल्याएको भेटिएको छ । सूचना तथा प्रसारण विभागले प्रसारण अनुमतिपत्र र पूर्वप्रसारण अनुमति समेत नलिई टेलिभिजन उद्घाटन भएपछि एक समिति बनाएर अध्ययन गरेको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*