Monday, November 29th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– चालु आर्थिक वर्षको तीन महिनामा कुल ५ अर्ब ७ करोड रुपैयाँ प्रत्यक्ष विदेशी लगानी (एफडीआई) मुलुक भित्रिएको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो ७३.५ प्रतिशत बढी हो । गत आर्थिक वर्षको असोजसम्म २ अर्ब ९२ करोड रुपैयाँ विदेशी लगानी भित्रिएको थियो ।

– यातायात व्यवस्था विभागमा १४ लाख स्मार्ट लाइसेन्स छाप्ने कार्ड आइपुगेको छ । फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख कार्ड आपूर्ति गरेको हो । कार्ड नभएपछि २०७७ फागुनदेखि लाइसेन्सको छपाइ र वितरण ठप्प छ ।

– कान्तिपुर मिडिया ग्रुप (केएमजी), केएल दुगड समूह र समिट एयरले हुम्लाको खाद्यान्न समस्या तत्काल समाधान गर्न बिहीबार ३४ क्विन्टल चामल पठाएका छन् । हुम्लाको खाद्य संकटबारे कान्तिपुर दैनिकमा बुधबार समाचार प्रकाशित भएपछि तीनवटा संस्थाको सहकार्यमा उक्त सहयोग उपलब्ध गराइएको हो ।

– कमिसनको खेलमा हुम्लामा खाद्य संकट निम्त्याएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले हुम्लावासीलाई दिएको छुटमा समेत लुट गरेको पाइएको छ । कोभिड संक्रमण बढिरहेका बेला गरिएको निषेधाज्ञाका क्रममा हुम्लावासीलाई सरकारले चामलमा २० प्रतिशत छुट दिएको थियो । उक्त रकम कर्मचारीले नै खाएको तथ्य फेला परेको हो ।

– बिमा कम्पनीहरुले गर्ने पुनर्बिमामा नियामक निकाय बिमा समितिले प्रत्यक्ष हस्तक्षेप गर्दै नयाँ निर्देशन दिएको छ । समितिले नेपाल पुनर्बिमा र सञ्चालनमा आउने तयारीमा रहेको हिमालयन रि इन्स्यारेन्समा मात्रै पुनर्बिमा गर्न बिमा कम्पनीहरुलाई निर्देशन दिएको हो ।

– रामेछाप र ओखलढुंगा जिल्लाको सीमा लिखु नदीमा निर्माण भएको लिखु ४ जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन थालेको छ ।५२ दशमलव ४ मेगावाट क्षमताको उक्त जलविद्युत आयोजनाले उत्पादन गरेको विद्युत हालै मात्र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा पठाइएको हो ।

– विद्युत् ग्रिड आधुनिकीकरणका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई थप सात अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण दिने भएको छ । एडीबीले दिने ६० मिलियन अमेरिकी डलर अर्थात् सात अर्ब आठ करोड रुपैयाँको सम्झौतामा भोलि शुक्रवार हस्ताक्षर हुने अर्थ मन्त्रालयले जनाएको छ ।

– पश्चिम नवलपरासीमा सञ्चालित चिनी उद्योगलाई उखु अभाव हुन थालेको छ । समयमा भुक्तानी नपाउने समस्यापछि किसान वैकल्पिक खेतीतर्फ आकर्षित भएपछि उद्योगलाई उखु अभाव हुन थालेको हो ।

– गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक आय–व्यय विवरण नबुझाएका तथा राष्ट्रिय लेखा प्रणालीसँग त्यस्तो विवरण रुजु नगरेका साढे ३ दर्जन सरकारी निकायलाई महालेखा परीक्षकको कार्यालयको पत्र पठाएको छ । आर्थिक वर्ष सकिएको ४ महिना बितिसक्दा पनि आम्दानी–खर्च सम्बन्धी विवरण रुजु नगरेका ती निकायहरुलाई महालेखाले समय तोकेरै विवरण बुझाउन भनेको हो ।

– साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ३.२२ अंकले घटेको छ । सो अंकको कमीसँगै परिसूचक २७३१ अंकमा कायम भएको छ । कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

– कोरोना संक्रमणको दोस्रो लहरपछि अर्थतन्त्र चलायमान भई पुनरुत्थान उन्मुख रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ । उद्योगर
व्यवसायहरूको उत्पादन एवम् कारोबारको अवस्था र रोजगारीमा उल्लेख्य सुधार आएको सार्वजनिक ‘कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी तेस्रो पुनरावृत्ति सर्वेक्षण प्रतिवेदन’ को निष्कर्ष छ ।

– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कात्तिक महिनामा गरेको बजार अनुगमनका क्रममा अधिकांश व्यवसायिक फर्ममा कैफियत भेटिएको छ । विभागले खाद्यान्न तथा किराना पसल, फार्मेसी, ग्रोसरी, डिपार्टमेन्ट स्टोर, दूग्धजन्य पदार्थ तथा बेकरी, फलफूल तथा तरकारी गरी ३ सय ८८ फर्ममा अनुगमन गरेको थियो ।

– माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबारे अध्ययन गर्न गठित कार्यदलले काम थालेको छ । मंसिर १ मा कार्यदलको पहिलो बैठक बसेसँगै आगामी पुस १५ सम्ममा सुझाव प्रतिवेदन बुझाइसक्ने गरी अध्ययन अघि बढाइएको हो ।

– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको भान्सामा एलपी ग्यास हटाएर विद्युतीय चुलो राख्न सरकारले प्रक्रिया अगाडि बढाएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले बुधबार यी निकायका उच्च अधिकारीहरूसँग छलफल गर्दै ग्यासलाई इन्डक्सनले विस्थापित गर्ने कार्ययोजनाको कार्यान्वयन प्रक्रिया अघि बढाउन भनेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*