Monday, November 29th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– अभिनेता राजेश हमालले नयाँ जीप कम्पास किनेका छन् । हमाल र उनकी श्रीमती मधु भट्टराईले बिहीबार नक्सालस्थित जीप शोरुमबाट लेजेन्डरी जीप कम्पासको डेलिभरी लिएका हुन् । नेपालमा नयाँ जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र एस मोडेल गरी चार ट्रिममा उपलब्ध छ । जसको मूल्य ८४ लाख ९० हजार देखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म रहेको छ ।

– अभिनेत्री रेखा थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार राजेन्द्र लिङ्देनलाई साथ दिने भएकी छन् । लिङ्देन महाधिवेशनमा अध्यक्ष कमल थापासँग प्रतिस्पर्धा गदैछन् । मंसिर १५ गतेदेखि राप्रपाको महाधिवेशन शुरु हुँदैछ । राजेन्द्रले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

– गायक स्वर्गीय जगतमर्दन थापाका नाती आयुष्मान बिष्टले आफ्नो पहिलो गीत सार्वजनिक गरेका छन् । ‘पोखरेली नानी’ बोलको गीतमा बसन्त सापकोटाको संगीत, कुशल कुमार खनालको शब्द छ । यो गीतको भिडियोमा कुन्साङ बोम्जन, विना राउत, दिक्षा खनाल र गायक बिष्टले अभिनय गरेका छन् । सुबोल थापाले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् ।

– चलचित्र ‘टुल्की’ सेन्सर पास भएको छ । चलचित्र विकास बोर्डको केन्द्रीय चलचित्र जाँच पास समितिले टुल्कीलाई प्रदर्शनका लागि अनुमति प्रदान गरेको हो । चलचित्रले युनिभर्सल सर्टिफिकेट पाएको छ । योसँगै अब यो चलचित्र जुनसुकै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । द पाल्म ग्रुप प्रालिको ब्यानरमा हिमाली भेगमा प्रचलित बहुपति प्रथाको कथामा निर्माण गरिएको ‘टुल्की’मा शिशिर वाङदेल, स्वस्तिमा कार्की, हिमाली हमाल, नरेन तामाङ, रत्नप्रसाद न्यौपाने, सोम लामा, शेखर लामा, सौजन सुब्बा, दीर्घ लामा, भक्तसिंह कठायत लगायतको चलचित्रमा अभिनय छ ।

– हरर चलचित्र ‘कठपुतली’ले आफ्नो प्रदर्शन मिति तय गरेको छ । यो चलचित्र अंग्रेजी नयाँ वर्षको अवसर पारेर आउँदो पुस १५ गते अर्थात् डिसेम्बर ३० तारिखबाट रिलिज हुने भएको छ । तमु ल्होसारको सार्वजनिक बिदा भएकाले यो चलचित्र बिहीबारबाट नै प्रदर्शनमा आउने निर्माणपक्षले बताएको छ । सम्पदा मल्लको लेखनमा तयार भएको यो चलचित्रलाई भीमसेन लामाले निर्देशन गरेका हुन् । यो चलचित्रले हालै मात्र अमेरिकाको प्रतिष्ठित इन्टरनेशनल फिल्म फेस्टिभल ‘विन्टर फिल्म अवार्ड’मा २ वटा अवार्ड जितेको थियो ।

– सिनेमा हलमा चलचित्र ‘सूर्यवंशी’ले धमाकेदार व्यापार गरेपछि ओटीटी प्लेटफर्ममा पनि बलिउड अभिनेता अक्षय कुमार खेलाडी साबित भएका छन् । डिसेम्बर ४ मा ओटीटीमा प्रसारण हुने ‘सूर्यवंशी’लाई नेटफ्लिक्सले एक सय करोड भारुमा खरिद गरेकोमा अक्षय कुमारको नयाँ ‘अतरंगी रे’लाई अर्को ओटीटी प्लेटफर्म डिज्ने प्लस हटस्टारले अझै महँगो रकमा खरिद गरेको छ । डिसेम्बर २४ मा रिलिज हुने यो चलचित्रलाई डिज्ने प्लसले २ सय करोड भारुमा खरिद गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । योे चलचित्रमा अक्षय कुमारका साथमा सारा अली खान र धनुषको मुख्य भूमिका रहेको छ । यस चलचित्रको लागत १२० करोड रहेको बताइएको छ ।

– बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल डिसेम्बर पहिलो हप्ता विवाह बन्धनमा बाँधिदैछन् । दुवैले औपचारिक घोषणा नगरे पनि विवाहको धुमाधाम तयारी गरिरहेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार कट्रिना र विक्कीको विवाह समारोह जयपुरको एक रिसोर्टमा हुनेछ । समाचार अनुसार उनीहरुको विवाहमा सहभागी हुने अतिथिले मोबाइल भने लैजान पाउने छैनन् । विवाहमा आएका अतिथिहरुले तोकिएको कुनै स्थानमा मोबाइल राखेर मात्र समारोहमा प्रवेश गर्नुपर्नेछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*