Monday, November 29th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम स्थगित गरिएको छ । पार्टीको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवनमा आएको बेला ओलीले नारायणी नदीमा बोटिङ गर्ने कार्यक्रम तय गरिएको थियो । तर सुरक्षाको कारण देखाउँदै सो कार्यक्रम स्थगित गरिएको नेकपा एमालेका कार्यालय सचिवले जानकारी दिए ।

– नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको आज शुक्रबार मध्यान्ह नारायणगढ नारायणी नदी किनारमा उद्घाटन हुँदैछ । उद्घाटनअघि विभिन्न ठाउँबाट र्याली निस्कने छ । चितवन एमाले अध्यक्ष पार्वती रावलका अनुसार भरतपुरका सात ठाउँमा नेता कार्यकता भेला हुने छन् । त्यसपछि मुख्य तीन ठाउँबाट र्याली निस्कने छ ।

– नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ । स्वास्थ्य प्राविधिकको टोलीले बन्दसत्रस्थलमा प्रतिनिधिलाई रुघाखोकी तथा ज्वरो परीक्षणपछि मात्रै प्रवेश दिने भएको हो ।

– नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि थाइल्याण्डबाट बैंकक लगिएको छ । विगत डेढ महिनादेखि थाइल्याण्डको बैंककस्थित समितिभेज अस्पतालमा उपचार गराइरहेका नेता पुनलाई थप उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेन लगिएको हो ।

– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा अहिलेसम्म ६ जना नेताहरुले सम्बोधन गर्ने टुंगो लागेको छ । एमाले महाधिवेशनको उदघाटन नारायणी नदी किनारमा दिउँसो १२ः४५ बजे गर्ने छन् । उदघाटन समारोहलाई प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्नेछन् । एमालेको तर्फबाट अहिलेसम्म अध्यक्ष केपी शर्मा ओलीले मात्र सम्बोधन गर्ने टुंगो लागेको छ । उदघाटन समारोहमा अन्य राजनीतिक दलका शीर्ष नेताहरुले पनि शुभकामना मन्तव्य राख्नेछन् । जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, माओवादी केन्द्रका नेता लिलामणि पोखरेल र राप्रपा अध्यक्ष कमल थापाले एमाले महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्ने टुंगो लागेको एमाले केन्द्रीय कार्यालयका सचिवले जानकारी दिए ।

– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट तीन नेताले महासचिवमा दाबी गरेका छन् । सौराहास्थित पार्क सफारी रिसोर्टमा बिहीबार राति अध्यक्ष ओलीसहितका उनी निकट नेताहरूको बैठक बसेको थियो । बैठकमा उपमहासचिव विष्णु पौडेल, शंकर पोखरेल र प्रदीप ज्ञवालीले महासचिवमा दाबी गरेको स्रोतले बताएको छ ।

– प्रधानमन्त्री शेरबहादुर देउवाले आज नेपाल बारका पदाधिकारीसँग छलफल गर्दै हुनुहुन्छ। नेपाल बार एसोसिएशन र सर्वोच्च अदालत बार एसोसिएशनका पदाधिकारीसँग आज प्रधानमन्त्री शेरबहादुर देउवाले छलफलका लागि बोलाउनुभएको हो । प्रधानमन्त्री देउवाले नेपाल बारका पदाधिकारीलाई बिहान साढे १० बजे छलफलका लागि बोलाउनुभएको नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका जिल्लामा शुक्रबार जिल्ला अधिवेशन हुँदैछ । एकमात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा यसअघि नै जिल्ला अधिवेशन सुरु भइसकेको छ ।

– नेकपा एमालेको शुक्रबारबाट सुरु हुने १० औं राष्ट्रिय महाविधेशनमा १५ सयभन्दा बढी सुरक्षाकर्मीहरु परिचालन गरिएको छ । चितवनको सुरक्षा जनशक्तिले नपुग्ने भएपछि विभिन्न जिल्ला तथा निकायबाट सुरक्षाकर्मीहरुलाई चितवन झिकाइएको छ ।

– नेपाली कांग्रेस चितवनको जिल्ला अधिवेशन अनिश्चित बनेको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले चितवनमा राष्ट्रिय महाधिवेशन गरेपछि कांग्रेस जिल्ला अधिवेशन नै प्रभावित भएको हो ।

– कोभिडविरुद्ध खोप लगाएको ६ महिनापछि शरीरमा संक्रमणविरुद्ध लड्ने एन्टिबडी क्रमशः कम हुँदै जान्छ । जसले गर्दा पुनः संक्रमित हुने जोखिम बढ्छ । उक्त जोखिमलाई कम गर्न ६ महिनापछि ‘बुस्टर डोज’ लगाउनुपर्ने विभिन्न अनुसन्धानले देखाएका छन् । हाल विश्वका ३६ भन्दा बढी मुलुकमा कोभिडविरुद्ध पूर्ण खोप पाएकाहरूलाई बुस्टर डोज दिन थालिएको छ ।

– बारको अगुवाइमा अन्य सात पेसागत संगठन र बृहत् नागरिक आन्दोलनको पहलमा बिहीबार ‘बालुवाटार न्याय मार्च’ मा नयाँ पुस्ताका जोसिला कानुनकर्मीमात्र होइन, ८६ वर्षीया सत्यभामा माथेमा पनि सहभागी भइन् । माथेमा नेपालकी प्रथम महिला न्यायाधीश हुन् ।

– निर्वाचन आयोगले आगामी निर्वाचनलाई लक्षित गरी मंसिर १७ देखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले अहिले पनि ७७ वटै निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ४० इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन गरिरहेको छ ।

– चिकित्सा शिक्षा आयोगले एमबीबीएसलगायत विषयको भर्नामा मेरिटलाई पन्छाएर योग्यताक्रममा पछाडि रहेकालाई रोजेको विद्यार्थीहरूले गुनासो गरेका छन् । एकीकृत प्रवेश परीक्षा लिएर विश्वविद्यालय र प्रतिष्ठानहरूमा चिकित्सा शिक्षाका विद्यार्थीको दोस्रो चरणको भर्ना चलिरहेको छ ।

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पहिलो पटक निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्ने भएको छ । बिहीबार बसेको पार्टीको कार्य सम्पादन समितिले विधान संशोधन गर्दै निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन गर्ने नयाँ व्यवस्था प्रस्ताव गरेको हो ।

– शुक्रबार दशौं केन्द्रीय कमिटीको बैठकपछि एमालेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठक बस्ने भएको छ । बैठक सौराहमा राति ८ बजे हुनेछ ।

– बृहत नागरिक आन्दोलनमा सक्रिय पत्रकार नारायण वाग्लेले न्यायालयको समस्यामा प्रमुख राजनीतिक दलका नेताहरु चुप बसेको भन्दै आक्रोश पोखेका छन् । सर्वोच्च अदालतबाट सुरु भएको न्याय मार्चको बालुवाटारमा समापन गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा एक महिनादेखि बालुवाटारमा सुतिरहेको टिप्पणी गरे ।

– नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टी सभापति पदमा उम्मेदवारी घोषणा गरेका छन् । बिहीबार काठमाडौंको थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।

– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका रुपमा चर्चा गरेका छन् भने केहीले आफूलाई मत दिने विश्वासिलो व्यक्तिलाई महाधिवेशन प्रतिनिधि ल्याउँदा नेताहरुले परिवारकै सदस्य रोजेको टिप्पणी गरेका छन् ।

– श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले ‘फ्रि भिसा–फ्रि टिकट’को नीतिमाथि पुनरावलोकनको गृहकार्य थालेको छ । यो नीतिले श्रमिक ठगिने क्रम नरोकिएको र उल्टै सरकारले प्राप्त गर्ने राजस्व पनि गुमेको तर्क गर्दै श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ले नीति पुनरावलोकनका लागि मन्त्रालयभित्र छलफल चलाएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*