Monday, November 29th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कैलालीमा प्रहरीले होटलबाट ७ राउण्ड गोलीसहित दुईवटा पेस्तोल बरामद गरेको छ । टीकमपुर नगरपालिका-१ को सिद्धार्थ होटलबाट गोलीसहित पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको छ । उक्त होटल अगाडि गत कार्त्तिक ३० मा लम्किका भुपेन्द्र बडुवालको हत्या भएको गरिएको थियो । प्रहरीले बरामद गरेका हतियार हत्याका मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलले प्रयोग गर्दै आएको हुनसक्ने जनाएको छ ।

– सप्तरीमा बसले दिएको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका वडा नम्बर ५ कुसहामा बिहीबार दिउँसो पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बसले सोही दिशातर्फ जाँदै गरेको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करले मोटरसाइकल चालक सिन्धुलीको दुधौली नगरपालिका वडा नम्बर ७ बस्ने ४० बर्षीय कुमार बस्नेतको मृत्यु भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपीले जानकारी दिए ।

– प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-१३ स्थाइ घर भइ काठमाडौं महानगरपालिका-४ हाँडीगाउँ बस्दै आएकी ४५ वर्षीय शोभा गुरूङ रहेकी छन् । उच्च अदालत पाटनको २०७७ असार १ गतेको फैसलाले गुरूङलाई ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।

– कैलालीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग तनावग्रस्त बनेको छ । बिहीबार दिउँसो लम्कीचुहा नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा सडक काटिरहेको अवस्थामा ट्रकले ठक्कर दिदा टीकापुर नगरपालिका(२ की ४० वर्षीया गोमा थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । महिलाको मृत्युपछि आक्रोशित स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै ट्रकमाथि आगजनी गरेको जानकारी दिए ।

– झापामा जङ्गली हात्तीको आक्रमणमा परेर एक जनाको ज्यान गएको छ । हात्तीको आक्रमणबाट भद्रपुर नगरपालिका(९ का ६० वर्षीय राकबहादुर बुर्जा मगरको ज्यान गएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीकाअनुसार आज बिहान मेची नगरपालिका १४ शनिबारेका टङ्क पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई हात्तीले आक्रमण गरेको थियो ।

– झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भद्रपुर नगरपालिका–७ स्थित बोक्तोबारीबाट बिहीबार बेलुका भद्रपुर–७ टेलिभिट्टाका १९ वर्षीय नारायण राजवंशी, २२ वर्षीय प्रकाश राजवंशी, भद्रपुर–६ सङ्गमटोलका २० वर्षीय राहुल ठाकुर, भद्रपुर–५ का २१ वर्षीय सोनु राजवंशी, बिर्तामोड–८ सैनिकटोलका १८ वर्षीय सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका ३१ वर्षीय प्रताप योञ्जन र अर्जुनधारा–१ का २८ वर्षीय राज श्रेष्ठलाई ब्राउनसुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वडा प्रहरी कार्यालयको प्रहरी टोलीले शङ्का लागेर जाँच गर्ने क्रममा उनीहरुका साथबाट चार ग्राम ६१० मिलीग्राम ब्राउनसुगर, एक थान नाइट्रोजन ट्याबलेट, एक थान डिजिटल तराजु, मोटरसाइकल बरामद गरेको कार्यालयले जनाएको छ ।

– इटहरीमा चोरीको मोटरसाइकलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका ११ घर भई इटहरी उपमहानगरपालिका ५ जनता बस्तीमा डेरा गरी बस्दै आएका २४ वर्षीय समिर परियार र इटहरी ३ तालतलैयाका १९ वर्षीय राजेश खडका रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । कार्यालयका अनुसार इटहरी ५ का राजेन्द्र प्रसाद ढुङ्गानाको आफ्नै घरमा पार्किङ गरी राखेको मोटरसाइकल हराएको भन्ने सूचनाको आधारमा खोजी गर्ने क्रममा विराटनगर महानगरपालिका १५ भन्सार कार्यालयको १ नम्बर ढाट नटीकैबाट इलाका प्रहरी कार्यालय रानीले मोटरसाइकलसहित परियारलाई पक्राउ गरेको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*