मिर्गौलाको रोगबारे जान्नैपर्ने १२ कुरा

१. शरीरमा मेरुदण्डको दुवैतर्फको मध्यभागमा करङको ठीक मुनि दुई वटा सिमी आकारको अंगलाई मिर्गौला भनिन्छ।

२. मिर्गौलाले २४ घण्टामा करिब २ सय लिटर रगत छान्ने काम गर्दछ। यस प्रक्रियाबाट रगतमा भएका विकार वस्तु  हटाउनुका साथै अत्यधिक पानीलाई पिसाबको माध्यबाट बाहिर निकाली शरीरमा पानीको मात्रामा सन्तुलन कायम गर्दछ। 

३. मिर्गौला महत्वपूर्ण अंग हो भन्ने कुरा तबमात्र थाहा हुन्छ, जब मिर्गौला विग्रन्छ। 

४. ८० प्रतिशत मिर्गौला विग्रिएपछि मात्र बिरामीमा लक्षणहरु देखिन थाल्छ। त्यसैले समयसमयमा मिर्गौला परीक्षण गराउनु पर्दछ। मिर्गौला विग्रिसकेपछि दुःख भोग्नुभन्दा मिर्गौला रोग लाग्नै नदिन सचेत हुनुपर्छ।

५.  उच्च रक्तचाप, मधुमेह, मिर्गौलामा  हुने नेफ्राइटिस, मिर्गौलामा संक्रमण, मिर्गौलामा पत्थरी,  प्रोस्टेटको समस्या भएर पिसाब रोकिएपछि, पाठेघर खस्ने समस्याले पिसाब रोकिएमा र  जथाभावी रुपमा औषधि सेवन गर्दा मिर्गौला विग्रिने समस्या हुनसक्छ। पिसाव सम्बन्धि समस्या छ भने मिर्गौला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।

६. मिर्गौलामा खराबी छ वा छैन भनेर रगतमा क्रियाटिनिनको मात्रा परीक्षण गर्न सकिन्छ।  यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ। 

७. मिर्गौला बिग्रन नदिन बिहान उठ्ने वित्तिकै पानी पिउने, एकदिनमा ३ लिटरसम्म पिसाब लाग्ने गरी पानी खाने,  हरेक दिन १० हजार पाइला हिड्ने, समयमा सुत्ने र बिहान समयमै उठ्ने, धेरै गुलियो तथा गुलियो पदार्थहरु नखाने, मासु धेरै नखाने, उमेर बढ्दै गएपछि मासु नखाने, उमेर बढ्दै गएपछि दुध, दहि कम खाने, – मैदाको परिकारहरु सकेसम्म नखाने वा कम खाने,दाल, भात, तरकारी तथा सागसब्जी खाने, परिवारमा कसैलाई मिर्गौला सम्बन्धि रोग छ भने मिर्गौला परीक्षण गर्नुपर्छ र आफ्नो उचाइ अनुसार शरीरको तौल मेन्टेन गर्नुपर्छ।

८. नेपालमा मिर्गौला फेल भएका बिरामीका लागि प्रत्यारोपण र डायलाइसिस दुबै सेवा निशुल्क उपलब्ध छन्। 

९. डायलाइसिस सेवा अन्तर्गत हेमोडायइलाइसिस (मेसिनबाट अस्पतालमा गरीने) र पेरिटोनियल डायलाइसिस (घरमा बसेर आफैंले गर्न सकिने) पर्दछन्।

१०. प्रोटिनयुक्त खानेकुरा माछा, मासु, अण्डा, दूध, दही, दाल, गेडागुडी आदिले मिर्गौलाको काम बढाउने हुनाले मिर्गौला रोगीले कार्य क्षमताका आधारमा सिफारिस गरे भन्दा बढी खानु हुँदैन ।

११. शरीरमा प्रोटिनको अधिकतम तथा राम्रो उपयोगका लागि सिफारिस गरिएको प्रोटिनमध्ये ५० देखि ६० प्रतिशत उच्चकोटीको प्रोटिन भएका खानेकुरा माछा, मासु, अण्डा, दूध, दही आदि निर्धारित मात्रामा प्रत्येक खानामा पर्ने गरेर समावेश गर्नुपर्दछ ।

१२. कम वा शून्य प्रोटिन भएको तर शक्तिबर्धक खानेकुरा चिनी, ग्लुकोज, मह, चिल्लो पदार्थ, साबुदाना, आरारुट पाउडर आदि शरीरको आवश्यकता तथा अवस्था अनुसार दैनिक भोजनमा पर्याप्त मात्रामा समावेश गर्नुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com