वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया, सनातन धर्मावलम्बीका लागि विशेष दिन।
यो दिन पवित्र तलाउ र नदीमा स्नान गरी भगवान् विष्णुको पूजा आराधना गर्ने विधान छ। ब्रह्मा–विष्णु–महेश्वरको आवाहन गरी घडा र जौको सातुलगायत शीतलता प्रदान गर्ने वस्तु दान गर्नाले अक्षय फल प्राप्त हुने पुराणमा उल्लेख छ। यस्तै छाता, जुत्तालगायत वस्तु पनि दान गर्ने परम्परा छ।
पुण्य मिल्ने विश्वासमा बाटोमा सर्वत र सातु राखेर बटुवालाई खुवाउने परम्परा पनि छ। गर्मीयाममा जौको सातु र सर्वत खाँदा शरीरलाई फाइदा गर्ने आयुर्वेदमा उल्लेख छ।
अक्षय तृतीयालाई सत्ययुगादि तिथि पनि मानिएको छ। त्रेतायुगको आरम्भ यही दिनबाट भएको पौराणिक ग्रन्थहरूमा उल्लेख छ। अक्षय तृतीयाकै दिन भगवान् शिव पार्वतीको विवाह भएको पुराणमा उल्लेख छ। भगवान् विष्णुका छैटौँ अवतार परशुराम जयन्ती पनि वैशाख शुक्ल तृतीयाकै दिन मनाइन्छ।
अक्षय तृतीयाका विशेषता
अक्षय तृतीयालाई अनन्त–अक्षय–अक्षुण्ण फलदायक दिन मानिएको छ । जुन कहिल्यै पनि क्षय हँुदैन, त्यसैलाई अक्षय भनिन्छ ।
यो दिन विवाह गर्नेको शौभाग्य अखण्ड रहन्छ । यो दिन महालक्ष्मीलाई प्रशन्न तुल्याउन विशेष अनुष्ठान गर्नु राम्रो हुन्छ । यसो गर्दा अक्षय पुण्य प्राप्त हुन्छ ।
यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ । शास्त्रका अनुसार यो दिन स्वयंसिद्ध मुहूर्त हो । विवाह, सुन खरिद, नयाँ सामान खरिद, गृह प्रवेश, पदभार ग्रहण, सवारी साधन खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि यो दिन अति उत्तम हो ।
भगवान् विष्णुका २४ अवतारमध्ये भगवान परशुराम, नर–नारायण एवं हयग्रीव आदि तीन अवतार अक्षय तृतीयको दिन नै धर्तीमा आएका थिए ।
अक्षय तृतीया वर्षकै सर्वश्रेष्ठ अक्षय मुहूर्त हो ।
नेपाली हिन्दूहरूले अक्षय तृतीयाको दिन सातु र सर्वत खाने खुवाउने गर्दछन् ।