३५० किमि रेन्ज दिने ग्यारो विद्युतीय स्कुटर नेपाली बजारमा
बढी रेञ्ज दिने विद्युतीय स्कुटरका रूपमा परिचित ग्यारो जीटी ६० नेपाली बजार भित्रिएको छ छ । क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाली बजारमा यो स्कुटरको बिक्री सुरु गरेको हो ।
यो स्कुटरले एक पटकको फुल चार्जमा ३५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । देशभरका विभिन्न आठ शोरुमबाट बिक्री भइरहेको यस स्कुटरको मूल्य कम्पनीले तीन लाख ६५ हजार रुपैयाँ तोकेको छ ।
त्यस्तै यस स्कुटरले इको मोडमा ३५० किलोमिटर, ड्राइभिङ मोडमा २८० किलोमिटर र स्पोर्ट्स मोडमा २०० किलोमिटर रेञ्ज दिने कम्पनीको दाबी छ । यसको ग्राउन्ड क्लियरेन्स १४० एमएम रहेको छ । यसमा ४८ भोल्ट १८० एम्पियर आवर क्षमताको मोटर छ ।
४८ किलो तौल भएको यस ब्याट्रीले आईपी ६७ रेटिङ पाएको छ । मोटरको सन्दर्भमा यसमा २००० वाट आउटपुट पावर र ४००० वाट पिक पावरको मोटर छ । यसले १५० न्युटन उच्चतम् टर्क दिने कम्पनीले जनाएको छ । यसलाई छदेखि आठ घण्टामा फुल चार्ज गर्न सकिने कम्पनीले जनाएको छ ।