निमोनिया के हो ?
निमोनिया भनेको फोक्सो सुन्निने अवस्था हो र सङ्क्रमणका कारण यस्तो समस्या हुन्छ।
लक्षण के के हुन्छन् ?
ज्वरो आउने, चिसो महसुस हुने, खोकी लाग्ने, श्वासप्रश्वासको समस्याका साथै कमजोरी लगायत हुन्। यसमा श्वास फेर्न गाह्रो हुने, सेप्सिस भनिने धेरै अङ्गहरूले काम नगर्ने अवस्था र मृत्यु जस्ता जटिलताहरू देखा पर्नसक्छन्। अमेरिकी लङ असोसिएसनका अनुसार मानिसहरूले श्वासप्रश्वासको समस्या, ओठ र औँलाको रङ निलो हुने, छाती दुख्ने, उच्च ज्वरो आउने वा कफ सहितको खोकी लाग्ने र त्यो बढ्दै जाने जस्ता लक्षण देखा पर्नासाथ चिकित्सकीय परामर्श लिनुपर्छ।
निमोनिया हुनबाट कसरी जोगिने ?
फ्लू भाइरस वा निमोकोकल ब्याक्टेरियाले निम्त्याउने निमोनियाबाट बच्नका लागि खोप पनि लगाउन सकिन्छ।
सरसफाइमा ध्यान दिने, बारम्बार हात धोइरहने, धूमपान नगर्ने र स्वस्थ खानेकुरा तथा नियमित व्यायामका माध्यमबाट आफ्नो रोग प्रतिरोधात्मक क्षमता बलियो राखिरहने हो भने पनि निमोनियाको जोखिम कम हुन्छ।