गर्मी मौसम सुरु भएपछि छालाको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता अरु थपिन्छ । गर्मीका कारण शरीरमा पसिना बढी आउँछ भने धुवाँधुलोले छालालाई असर पुर्याइरहेको हुन्छ ।
१. बडी लोसन
नुहाइसकेपछि शरीरमा बडी लोसन लगाउनुपर्छ । जसले छालालाई सुख्खा हुन दिंदैन ।
२. फेसवासको प्रयोग गर्ने
हरेक दिन बिहान र बेलुका दुईपटक फेसवासले अनुहार धुने गर्नुपर्छ । फेसवासले अनुहारमा जमेको दिनभरिको धुलोमैलोलाई सफा गर्छ भने छालालाई फ्रेस बनाउँछ ।
३. मोइस्चराइजर
छालालाई मुलायम बनाइराख्न मोइस्चराइजर क्रिम प्रभावकारी हुन्छ । यसले छाला फुट्ने, छाला पत्रपत्र भएर निस्किने र पोल्ने समस्या कम हुने गर्छ । यसको प्रयोगले छालामा पोषण प्राप्त हुन्छ, जसले गर्दा छाला ‘ग्लो’ गर्छ ।
४. सनस्क्रिन क्रिम लगाउने
घरबाट बाहिर निस्कनुभन्दा १५-२० मिनेट अगाडि सनस्क्रिन क्रिम लगाउनुपर्छ । सनस्क्रिन अनुहारमा मात्रै नभएर कपडाले नढाक्ने सबै भागमा लगाउनुपर्छ । यो लगाउनुअघि मोइस्चराइजर क्रिम लगाउनुपर्छ ।
सनस्क्रिन क्रिमले छालालाई घामको विकिरणबाट बचाउँछ । विकिरणबाट छालामा चायापोतो आउने, छाला कालो हुने समस्याबाट जोगाउँछ । सनस्क्रिन घरबाहिर हिंड्दा मात्र नभई घरभित्र बस्दा पनि सनस्क्रिन लगाउनु राम्रो हुन्छ ।
५. पाउडर
गर्मीमा पसिना आउनु त सामान्य नै हो । पसिनाको कारण हुने फंगल इन्फेक्सनबाट जोगाउन पाउडर लगाउन सकिन्छ । धेरै पसिना आउने ठाउँ जस्तै, काखी, घुँडामा पाउडर लगाउनुपर्छ । पाउडरले छालामा हुने विभिन्न संक्रमणबाट जोगाउँछ ।
६. धेरै पानी पिउने
गर्मीमा धेरै पसिना आउने भएका कारण शरीरमा पानीको कमी हुनसक्छ । यसले गर्दा शरीरमा छाला सुख्खा हुने, एलर्जी र अनुहारमा दाग आउने समस्या आउन सक्छ । त्यसैले पानी धेरै पिउनुपर्छ । यसले शरीरमा भएको टक्सिन (शरीरभित्रको विषादी चीज) बाहिर निकाल्छ, जसले गर्दा अनुहारमा चमक आउँछ ।
७. खानपान र व्यायाम
छालाको लागि बाहिर क्रिम लगाएर मात्र होइन, शरीर स्वस्थ भएर पनि छाला स्वस्थ बनाउन सकिन्छ । जस्तै, भिटामिनयुक्त खानेकुरामा गोलभेंडा, कागती, अण्डा, दूध, दही, हरियो सागपात, एभोकार्डो खानामा समावेश गर्नुपर्छ । साथै हेल्दी डाइट, पर्याप्त निद्रा र योगा गरेमा छाला चम्किलो (ग्लो) दिन्छ ।