के हो क्षयरोग, कसरी जोगिने र?

क्षयरोग ‘माइकोबेक्टेरियम ट्युबरक्लोसिस’ नामक कीटाणुको सङ्क्रमणबाट लाग्ने सरुवा रोग हो । यो रोगलाई सामान्य भाषामा टीबी भनेर पनि बुझिन्छ । प्रायजसो यो रोग श्वासप्रश्वासबाट सर्ने छातीरोग विशेषज्ञ डा।दीर्घसिंह बमले बताए ।
‘सामान्यतया क्षयरोग औषधि खायो भने निको हुन्छ,’ उनले भने, ‘यदि कुनै पनि व्यक्तिको खकारमा कीटाणु देखिएको छ भने आफ्नै शरीरभित्र अन्य भागमा पनि सर्न सक्छ । फोक्सोको टीबी लागेको छ भने छालामा, दिमागमा, पेटमा वा हड्डीमा सर्न सक्छ । अर्थात् शरीरको सम्पूर्ण भागमा जान सक्छ ।’
  • क्षयरोगको लक्षण

क्षयरोगको लक्षण अङ्ग अनुसार फरक हुन्छ । तर सामान्यतया मान्छे दुब्लाउँदै जानु, मन्द गतिको ज्वरो आउनु र खानमा रुचि नहुनु लगायत क्षयरोगको लक्षण हुने डा। बमले बताए । ‘खोकी लाग्ने, रगत आउने यो पछिको लक्षण हो ।’ उनले भने, ‘फोक्सोको क्षयरोग भएमा खोकी लाग्ने, दिमागको क्षयरोग भएमा टाउको दुख्ने, पेटको टीबी भएमा दिसा लाग्ने होला, पेट दुख्ने होला, दुब्लाउँदै जाने होला, त्यस कारणले क्षयरोग कुन अङ्गमा सङ्क्रमण गरेको हुन्छ, सो अनुसार फरक लक्षण हुन्छ ।’

  • कसरी सर्छ यो रोग ?

सङ्क्रमित व्यक्तिले खोक्दा वा हाछ्यूँ गर्दा नजिक बस्ने व्यक्तिलाई सर्न सक्ने डा। बम बताउँछन् । श्वासप्रश्वासबाट कणहरू हावामा निस्कने र त्यसको माध्यमबाट अन्य व्यक्तिमा सर्ने उनले सुनाए । ‘कुनै व्यक्तिलाई फोक्सोको टीबी छ भने त्यो व्यक्तिले जहाँ–जहाँ थुक्छ, त्यहाँ–त्यहाँ टीबीको कीटाणु हुन्छ,’ उनले भने, ‘हावाको मध्यमबाट त्यो कीटाणु अरूलाई सर्छ ।’

  • क्षयरोगको उपचार ?

क्षयरोग लागेको शङ्का लाग्नासाथ नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राखी निःशुल्क खकार–रगत परीक्षण गर्न सकिन्छ । क्षयरोगको उपचार गरेमा ९५ प्रतिशत निको हुने उनले सुनाए । ‘क्षयरोग नियमित रूपमा एन्टीबायोटिक औषधी खाँदा पूर्ण रूपमा निको हुन्छ,’ उनले भने, ‘उपचार अवधि भने सङ्क्रमित अङ्ग, रोगको प्रकृति हेरी फरक हुन्छ । समयमा उपचार नहुँदा परिवारका अन्य सदस्य र त्यसबाट अन्त सर्ने सम्भावना अत्यधिक हुन्छ ।’

नेपाल सरकारले ७७ जिल्लामा समुदाय स्तरका स्वास्थ्य चौकी, अस्पताल, स्वास्थ्य क्षेत्रका युनिभर्सिटी लगायतमा निःशुल्क औषधि पाइने डा। बमले बताए । ‘बालबालिकादेखि वृद्धसम्मका लागि औषधि निःशुल्क छ,’ उनले भने ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com