प्रेरक कथा (चुनौती)

खानेकुरामा माछा एउटा महत्वपूर्ण खानेकुरा हो । माछा जति ताजा हुन्छ, जापानीहरु त्यति नै मन पराउँछन् । तर जापानको समुन्द्रको किनारामा पाइने माछाले मात्र जापानीहरुको माग पुरा हुन सक्दैन । त्यसैले माछा मार्ने माझीहरुले समुन्द्रमा निकै टाढा सम्म गई माछा मार्नुपर्छ । जब यसरी माछा मार्ने प्रक्रिया सुरु भयो, त्यसबेला माझीहरुको अघि एउटा ठूलो समस्या आयो । उनीहरु समुन्द्रमा जति टाढा माछा मार्न जान्थे । उनीहरु फर्किन निकैै समय लाग्थ्यो र माछा बासी हुन पुग्थ्यो , जुन कोही पनि किन्न चाहदैनथे ।
त्यस समस्याबाट मुक्ति पाउन माझीहरुले आफ्नो बोटमा फ्रिजर राखे । उनीहरु माछा समात्दै फ्रिजरमा राख्ने गर्न थाले । तर यसमा पनि एउटा समस्या आयो । जापानीहरु सजिलै फ्रिजमा राखेको र ताजा माछा छुट्टयाउथे र फ्रिजमा राखेको माछा किन्न मान्दैनथे । एक पटक फेरि माझीहरुले एउटा उपाय निकाले र ठूला ठूला जहाजहरुमा माछा हाल्ने ट्यांकर राखे । उनीहरु माछा समात्दै पानीले भरिएको ट्यांकरमा हाल्न थाले । ट्यांकरमा हाले पछि माछा केहि बेर यताउति कुदथ्यो । तर एकछिनमा ठाउँ सानो भएकाले एकै ठाउँमा स्थिर भई बस्थ्यो ।
जब ती माछा बजार पुग्थ्यो, तिनीहरु श्वास त फेरिरहेका हुन्थे । तर उनीहरुमा स्वतन्त्र घुमीरहेका माछामा जस्तो स्वाद तथा मजा हुँदैनथ्यो । जापानीहरुले ती माछा पनि मन पराएनन् । जतिसुकै उपाय निकाले पनि समस्या ज्यूँ का त्यूँ थियो । पुनः एक पटक माझीहरुले उपाय निकाले र यसपटक भने उनीहरुले पुरानै उपायमा केहि फेरबदल गरे । उनीहरु माछा ट्यांकरमै राख्थे । तर उनीहरुले त्यसमा साना माछा सँगसँगै एउटा सानो शार्क माछा पनि हाले । शार्कले केहि माछा खाए पनि धेरै जसो माछा बजारमा ताजा नै पुग्थे । त्यसो हुनुको कारण शार्क माछा साना माछाको लागि एउटा चुनौती सरह थियो । शार्कको उपस्थितिले साना माछा जतिखेर पनि चनाखो भएर बस्न थाले । यसरी ट्यांकरमा बस्दा पनि उनीहरुमा स्फुर्तिपन र ताजापन रहिरहयो ।
जसरी माछालाई ताजा राख्न माछाका अगाडी चुनौती ल्याइयो । त्यसैगरि हाम्रो जीवनलाई सक्रिय र सफल बनाउन हामीले पनि चुनौती लिने वा स्विकार गर्ने क्षमताको विकास गर्नुपर्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com