एक समय एक प्रशिद्ध चित्रकार थिए । उनी निकै राम्रा राम्रा चित्रहरु बनाउँथे । एक पटक उनले एक युवतीको निकै राम्रो चित्र बनाए तर उनलाई केहि कमि भएको जस्तो लाग्यो । त्यसैले अन्य व्यक्तिहरु सँग सल्लाह लिनका लागि उनले त्यो तस्वीर नजिकैको चौतारामा लगेर रुखमा झुन्ड्याए र त्यसको मुनि लेखे ‘कृपया यो चित्रमा कहाँ गल्ती छ टिक लगाईदिनु होला ।’ साँझमा चित्रकारले त्यो तस्वीर हेर्दा त्यहाँ कुनै त्यस्तो खाली ठाउँ थिएन जहाँ टिक नलगाएको होस् । त्यो देखेर चित्रकारले केहि सोचे र अघिल्लो दिन बिहान फेरि त्यहि चित्र बनाएर सोहि ठाउँमा लगेर झुन्ड्याए र त्यसको मुनि लेखे, ‘कृपया यहाँ कहाँ गल्ती छ सच्याईदिनु होला ।’ साथै चित्र बनाउने सामान पनि त्यहि राखी दिए । साँझमा चित्रकार चौतारामा जाँदा तस्विर जस्ताको तेस्तै थियो । यो देखेर चित्रकार संतुष्ट भएर तस्वीर लिएर घर फर्के । यस कथाबाट यो कुरा प्रष्ट हुन्छ कि अरुको गल्ती देखाउन जसले पनि जान्दछ तर सोहि कार्य आफूले गर्नुपर्दा अप्ठ्यारो महसुस हुन्छ ।
प्रेरक कथा (चित्रकार)