हर्टअट्याक (हृदयाघात) अकस्मात हुने मुटुको रोग हो। त्यसैले हर्टअट्याक हुने लक्ष्यणहरु पनि अचानक सुरु हुन्छ।
छातीको बीच भागमा वा बायाँतिर दुख्ने वा पोलेको जस्तो अनुभव हुने, छातीमा दबाब भएको महसुस हुने, छाती हल्का दुखिराख्ने। यी लक्षणसहित पसिना आउने, वाकवाकी लाग्ने, बान्ता हुने, डर लाग्ने, छटपटी हुने, मुटु छिटोछिटो ढुकढुक गर्ने, रिंगटा लाग्ने भएमा हर्टअट्याकको सम्भावना अधिक हुन्छ। यस्ता लक्ष्यण देखिएमा तुरुन्तै अस्पताल जानुपर्छ। तल उल्लेखित कुनै पनि कारण तपाईंसँग मिल्दोजुल्दो छ भने हर्टअट्याकको जोखिममा हुनुहुन्छ।
हर्टअट्याक हुने ८ कारण
उच्च कोलेस्टेरोल
उच्च कोलेस्टेरोलले हर्टअट्याकको खतरा ३ गुणा बढाँउछ। रगतमा कालेस्टेरोलको मात्रा जति धेरै हुन्छ, हर्टअट्याकको खतरा पनि त्यति नै धेरै हुन्छ। युवा अवस्थामा देखिने हर्टअट्याकको प्रमुख कारणमा उच्च कोलेस्टेराल र धूमपान मानिन्छ।
धूमपान
धूमपानले हर्टअट्याकको सम्भावना २ देखि ४ गुणा बढाउँछ। जति धेरै पटक धूमपान गर्यो त्यति नै हर्टअट्याकको सम्भावना बढ्दै जान्छ। मधुमेह, उच्च रक्तचाप र उच्च कोलेस्टेरोल भएका व्यक्तिलाई धूमपान अत्यन्तै खतरा मानिन्छ।
उच्च रक्तचाप
उच्च रक्तचाप भएको व्यक्तिमा हर्टअट्याकको सम्भावना २ गुणा बढी हुन्छ।
मधुमेह
मधुमेह भएका व्यक्तिमा हर्टअट्याकको सम्भावना २ देखि ३ गुणा बढी हुन्छ। लामो समयदेखि मधुमेह छ भने हर्टअट्याकको सम्भावना झन् बढी हुन्छ। मधुमेह भएका मानिसले रक्तचाप र कोलेस्टेरोल नियन्त्रण नगरे हर्टअट्याक हुने सम्भावना धेरै हुन्छ।
मोटोपना
मोटोपना र पेट ठुलो भएका मानिसमा हर्टअट्याकको सम्भावना हुन्छ।
वंशाणुगत
परिवारमा कसैलाई हर्टअट्याक (पुरुषलाई ४५ र महिलालाई ५५ वर्षभित्र) भएको छ भने अन्य सदस्यलाई पनि हर्टअट्याक हुने सम्भावना हुन्छ।
अत्यधिक मदिरा सेवन
नियमित अत्यधिक मदिरा सेवन गर्ने र एकैपटक धेरै मदिरा सेवन गर्ने मानिसलाई पनि हर्टअट्याकको सम्भवना हुन्छ।
मानसिक तनाव
मानसिक तनाव वा डिप्रेसन भएका मानिसलाई पनि हर्टअट्याकको सम्भावना हुन्छ।
हर्टअट्याकबाट जोगिने तरिका
१. शरीरको तौल नियन्त्रण गर्ने।
२. सामान्यता अत्यधिक नुनको प्रयोगले उच्च रक्तचापको समस्या निम्त्याउने भएकाले खराब मानिन्छ। त्यसैले खानामा नुनको मात्रा नियन्त्रण गर्नुपर्छ। तर अत्यधिक चिनीको उपभोग तथा खराब किसिमका वा ग्लाइसिमिक इन्डेक्स धेरै भएको अवस्थामा कार्बोहाइड्रेटको पनि नियन्त्रण गर्नुपर्छ।
३. माछालाई हप्तामा कम्तीमा तीन पटकसम्म सेवन गरौँ। मुटुको रोग लागिसकेका व्यक्तिले फिस आयल क्याप्सुलको नियमित सेवन गरौँ। प्राकृतिक रुपमा पाइने तैलीय माछा र फिस आयल ओमेगा ३ फ्याटी एसिडका स्रोत हुन्।
४. तनाव नियन्त्रण गरौं। किनभने तनावले आन्तरिक सूजनलाई बढाइदिन्छ। नियमित ध्यान गर्ने मान्छेको आयु लम्विने कुरा विज्ञानले पनि पुष्टि गरेको छ।
५. दैनिक आधा घण्टादेखि पैतालिस मिनेटसम्म हल्का ब्यायाम गर्ने।
६. महिलाले दिनमा एक ड्रिंक रेड वाइन र पुरुषले दुई ड्रिंकसम्म उपभोग गर्दा एचडीएल बढ्छ र रगत पनि पातलो भई हृदयाघातको समस्या कम गराउँछ।
७. गाढा हरियो सागसब्जी , ब्रोकाउली , फर्सी, राज्मा, गेडागुडी, सोया, तोफु लगायतका सबै प्रकारका फलफूल दैनिक कम्तीमा तीन–चारपटक खानुपर्छ। खानामा फाईवरको मात्रालाई बढाउनुपर्छ, यसले कोलेस्टेरोल नियन्त्रण गर्छ।
८. काचो वा हल्का तेलमा भुटेर २ ३ केस्रा लसुनको प्रयोगले ट्राइग्लिसराइड नियन्त्रण गर्छ। यदि पहिले नै रगत पातलो बनाउने औषधिको उपभोग गर्नुहुन्छ भने चिकित्सकसँग परामर्श लिनुहोस् किनभने लसुनले रगतलाई पातलो बनाउँछ।
९. शाकाहारी आहार मात्र सेवन गर्नेमा हृदयाघातको समस्या कम हुन्छ।
१०. शरीरमा होमोसिस्टिनको मात्रा बढ्दा पनि हृदयाघात तथा मस्तिस्काघातको समस्या बढ्छ। यो समस्या यात जन्मजात रुपमा देखिन्छ या भिटामिन बि ६ तथा भिटामिन बि १२ को कमीमा देखिन्छ। तसर्थ यसको उपचार वा रोकथाम गर्नुपर्छ।