एउटा गाउँमा एउटा एकदमै सुन्दर मन्दिर थियो । त्यस मन्दिरको महिमा टाढा टाढा सम्म प्रख्यात थियो । त्यस मन्दिरमा सँधै जसो हजारौ मानिसहरुको भिडभाड भइरहन्थ्यो । त्यहाँको भगवानको मूर्ति निकै नै कलात्मक थियोे । मन्दिरको भुईमा मार्बल ओछ्याइएको थियो । एकदिन सबै नित्यकर्महरु सिद्धीसकेपछि राती मन्दिरमा ओछ्याइएको ढुंगाको मार्बलले मूर्तिरुपी ढुंगालाई चित्त दुखाउँदै भन्यो, ‘म पनि ढुंगा हुँ र तिमी पनि ढुंगा हौ तर म भुईमा ओछ्याइए, दिनहुँ हजारौ मान्छेहरुको खुट्टाले किल्चिन बाध्य भए । जसले मलाई सँधै मर्माहत बनाउँछ तर तिमी मूर्ति भएर पुजिएका छौ । तिमीलाई पुजा गर्न र छुनका लागि मानिसहरु तछाँडमछाँड गर्छन् । तिमीलाई फुल चंदन, धूप चढाउँछन्, रुपैया पैसा चढाउँछन् । तिमीलाई ढोग्छन्, तिम्रो पाउँ पर्छन् । तिमीलाई छुन तड्पिन्छन् मानिसहरु । तर मलाई वास्ता गर्दैनन्, आखिर यस्तो भेदभाव किन ? यो सुनेर मूर्तिरुपी ढुंगाले भन्यो, ‘तिमीले एकदमै ठिक कुरा भन्यौ तर यस्तो हुनुको एउटै कारण छ । जब मूर्ति बनाउने कालीगढले मूर्ति बनाउनका लागि म माथि किलाको प्रहार गर्यो ,त्यसबेला मैले आफ्नो दुःख कष्टलाई सहेर बसे, धैर्य गरे अनि उक्त कालीगढले मलाई एक सुन्दर मूर्तिमा रुपान्तरण गर्यो तर जब तिमी माथि किलाको प्रहार भयो तिमी त्यो वेदना सहन नसकेर टुक्रा टुक्रा भयौ अनि भूँईमा बिछ्याइयौ ।’
प्रेरक कथा(मूर्ति र मार्बल)
 
			 
			 
			