पारदर्शी फोनको रूपमा चर्चा पाएको नथिङ फोनको दोस्रो लाइनअप ‘नथिङ फोन टु’ नेपाली बजारमा आएको छ । नेपालका लागि नथिङको आधिकारिक वितरक सीजी मोबाइलले यो फोन उपलब्ध गराएको हो ।
यो फोन दुई ओटा स्टोरेज भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको मूल्य ७५ हजार ६९९ रुपैयाँ र १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ८३ हजार २९९ रुपैयाँ राखिएको छ ।
कस्तो छ नथिङ फोन टु ?
१२० हर्ज रिफ्रेस रेट भएको नथिङ फोन टुमा ६.७ इन्च एलटीपीओ ओलेड डिस्प्ले रहेको छ । डिस्प्ले सुरक्षाका लागि कोर्निङ गोरिल्ला ग्लास उपलब्ध छ । त्यस्तै यसको रेजोलुसन १०८०*२४१२ पिक्सेल रहेको छ । आल्मुनियम फ्रेम रहेको फोनको तौल २०१.२ ग्राम छ ।
एन्ड्रोइड १३ सँगै उपलब्ध हुने फोनलाई तत्कालै एन्ड्रोइड १४ मा अपग्रेड गर्न सकिन्छ भने यो नथिङ ओएस २.५.३ द्वारा सञ्चालित छ । यसमा क्वालकम एसएम ८४७५ स्नापड्रागन ८ प्लस जेन १ चिपसेट छ ।
यसमा ५० मेगापिक्सेलको ओआईएस वाइड र ५० मेगाक्सेलको एएफ अल्ट्रावाइड क्यामेरा रहेको छ, जसबाट फोरके र १०८० पिक्सेलको भिडिओ ३०/६० एफपीएसमा खिच्न सकिन्छ । कम्पनीका अनुसार यसमा ओआईएस समावेश गरिएका स्टेबल भिडिओ खिच्न सकिन्छ । सेल्फीका लागि ३२ मेगापिक्सेलको क्यामेरा राखिएको छ ।
अन्डर डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर भएको फोनमा एक्सेलेरोमिटर, प्रोक्सिमिटी, गाइरो, कम्पास लगायतका सेन्सर समावेश गरिएको छ । यसमा ४७०० एमएएच क्षमताको ब्याट्री राखिएको छ भने त्यसलाई ४५ वाटको वायर्ड चार्जर र १५ वाटको वायरलेस चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीले ५५ मिनेटमै फोन फुल चार्ज गर्न सकिने दाबी गरेको छ ।