पछिल्लो समय पाठेघरसँग सम्बन्धित विभिन्न रोगसँग महिलाहरु जुधिरहेका छन् । समग्र स्वास्थ्य, प्रजनन् र दीर्घायुको लागि महत्त्वपूर्ण पाठेघरको हेरचाहमा विशेष ध्यान नदिंदा विभिन्न रोगको जोखिम हुन्छ ।
महिलाको उमेरअनुसार पाठेघरमा देखिने समस्या फरक–फरक हुन्छ । पाठेघरमा खासगरी मासु पलाउने, पाठेघरको मुखको क्यान्सर, डिम्बाशय ट्युमर, डिम्बाशयमा सिस्ट (डल्लो) पलाउने, सेतो गन्हाउने पानी बग्ने, पाठेघरको संक्रमण जस्ता समस्या देखिन्छन् ।
पाठेघरमा समस्या भएको कसरी थाहा पाउने ?
सेतो गन्हाउने पानी बग्ने, पाठेघर सुन्निदा अत्यधिक पेट दुख्ने र रगत जाने, समयमा महिनावारी नहुने, महिनावारी हुँदा अत्यधिक रगत बग्ने वा अत्यधिक पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्क गर्दा दुख्ने वा रगत देखा पर्ने कुनै पनि महिलाको पाठेघरमा समस्या आउँदा देखिने लक्षण हुन् ।
पाठेघरको संक्रमण
महिनावारी भएपछि सेतो सफा र नगन्हाउने समस्या सामान्य रुपमा लिइन्छ । तर सेतो पानी बग्दा गन्हाउने, योनी चिलाउने र फोका देखिएमा संक्रमण भएको जनाउँछ । समयमा संक्रमणको उपचार नगरेमा फैलिंदै गएर पाठेघरको मुखको क्यान्सर समेत हुन सक्छ ।
पाठेघरको मुखको क्यान्सर
ह्युमन प्यापिलो भाइरस पाठेघरमा प्रवेश गरेपछि विस्तारै पाठेघरको मुखको क्यान्सर हुन्छ । यो मूलतः यौन सम्पर्कबाट सर्ने गर्छ । कलिलै उमेरमा यौन सम्बन्ध बनाउने, धेरै जनासँग यौन सम्पर्क राख्ने, सानै उमेरमा धेरै सन्तान जन्माउने, सरसफाइमा ध्यान नदिने, धुम्रपान गर्ने महिलामा पाठेघरको मुखको क्यान्सर हुने सम्भावना धेरै हुन्छ ।
यसबाट बच्न नौदेखि २६ वर्षसम्मका महिलालाई पाठेघरको क्यान्सरविरुद्धको खोप दिन सकिन्छ ।
पाठेघरलाई स्वस्थ राख्ने के गर्ने ?
- वर्षमा एक पटक पाठेघरको परीक्षण गराउनुपर्छ ।
- महिनावारीको समयमा प्याड लामो समयसम्म प्रयोग गर्नुहुँदैन ।
- अन्डरवेयर दिनहुँ परिवर्तन गर्ने, यौनी बाहिरको भाग सफा र सुख्खा राख्ने गर्नुपर्छ ।
खानपानमा पौष्टिक आहारयुक्त खानेकुरा समावेश गर्ने र घरको खानेकुरालाई प्राथमिकता दिनुपर्छ ।