रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि उत्तर कोरियाको भ्रमणमा गएका छन् । पुटिनलाई स्वागत गर्न उत्तर कोरियाली नेता किम जोङ्ग उन आफैं सुनान अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
उत्तर कोरियाको भ्रमणमा पुटिन दोस्रो पटक पुगेका हुन् । रुसले पुटिनको यो भ्रमणलाई ‘मैत्रीपूर्ण राजकीय यात्रा’ नाम दिएको छ ।
पुटिनको उत्तरकोरिया भ्रमणले विश्वभर चर्चा पाइरहेको छ । पश्चिमा देशहरुले यी दुई नेताबीच हुने छलफललाई चासोका साथ हेरेका छन् । उनीहरुलाई रुस र उत्तर कोरियाबीच हतियारको डिल हुन सक्ने डर छ ।
युक्रेनविरुद्धको लडाइँमा रुसलाई उत्तर कोरियाले आर्थिक सहायता र प्रतिरक्षा प्रविधिसँग सम्बन्धी समझदारी हुने अनुमान पश्चिमा देशहरुले गरेका छन् ।
हुन पनि रुसलाई युक्रेनविरुद्धको लडाइँमा डटिरहन थप अत्याधुनिक हतियारको आवश्यकता छ । युक्रेनलाई अमेरिका र अमेरिकाका सहयोगी देशहरुले सहयोग गर्दै आएकाले रुसलाई युक्रेनसँगको लडाइँ पेचिलो बन्दै गएको छ ।