प्रेरक कथा (प्रतिविम्ब)

दार्शनिक सुकरात हरेक बिहान घरबाट बाहिर निक्लिनु अघि ऐनाको सामू उभिएर केहि बेरसम्म आफूलाई निहार्ने गर्थे । एक दिन उनका एक शिष्यले उनलाई त्यसो गरिरहेको देखे । सुकरातको त्यस व्यवहारले उनको शिष्य मुस्कुराए । उनी मुस्कुराएको देखेर सुकरात उनीतिर फर्के र भने ‘तिमी सोच्दैछौ होला कि यो कुरुप बूढोले ऐनामा के हेरेको होला ? तर म यसो दैनिक गर्छु ।’ सुकरातको कुरा सुनेर शिष्य लज्जित भए । उनी माफी माग्न चाहन्थे तर उनले माफी माग्नु अघि नै सुकरातले भने ‘म हरेक दिन ऐना हेरेर आफ्नो कुरुपता प्रति सजग हुन्छु । यसो गर्दा मलाई यस्तो जीवन जीउने प्रेरणा मिल्छ, जसमा मेरो सद्गुणहरु अझ निखारियोस् र त्यसका अगाडि मेरो कुरुपता तुच्छ ठहरियोस् ।’ त्यसपछि शिष्यले सोधे, ‘त्यसो भए सुन्दर मानिसहरुले ऐना हेर्नु हुँदैन ?’ सुकरातले भने, ‘त्यस्तो होइन, जब उनीहरुले आफ्नो अनुहार ऐनामा हेर्छन्, उनीहरुले यो अनुभव गरुन् कि उनीहरुको विचार, बोली र कर्म पनि उनीहरुको शरिर जस्तै सुन्दर होस् । उनीहरु सँधै सचेत रहुन् कि उनीहरुको कर्ममा उनीहरुको सुन्दरताको प्रतिबिम्व रहोस् ।’

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

PHP Code Snippets Powered By : XYZScripts.com