जिबुटीमा छाडियो प्रयोगशालामा उत्पादन गरिएका लाखौं लामखुट्टे
अफ्रिकी देश जिबुटीमा आनुवांशिक रुपमा परिवर्तित (जेनेटिकल्ली मोडिफाइड) लामखुट्टेहरू वातावरणमा छाडिएको छ ।
प्रयोगशालामा उत्पादित यस्ता लाखौं लामखुट्टेहरू खुल्ला वातावरणमा छाड्नुको कारणचाहिं औलो रोग फैलाउने लामखुट्टेको प्रजातिलाई फैलनबाट रोक्नु रहेको छ ।
वातावरणमा छाडिएका एनोफिलिस स्टेफेन्सी प्रजातिका लामखुट्टे बेलायतको बायोटेक कम्पनी अक्सिटेकले विकास गरेको हो । यो लामखुट्टेले मानिसालई टोक्दैन । यो लामखुट्टेमा एउटा यस्तो जिन हुन्छ, जसका कारण पोथी लामखुट्टे प्रौढ हुनुभन्दा अगाडि नै मर्दछ।
प्रयोगशालामा उत्पादित लामखुट्टेलाई पूर्वीअफ्रिकामा यसरी खुल्ला वातावरणमा छाडिएको यो पहिलो घटना हो । जबकि पूरै अफ्रिका महादेशको कुरा गर्दाचाहिं यो दोस्रो पटक हो ।
प्रयोगशालामा तयार गरिएको यी लामखुट्टेमा यसको जनसंख्या कम गर्ने एउटा जिन हुन्छ जसले पोथी लामखुट्टेका बच्चालाई ठूलो भएर प्रजनन उमेरसम्म पुग्नबाट रोक्दछ।
यो कार्यक्रमको उद्देश्य एनोफिलिस स्टेफेन्सी लामखुट्टेको नश्ल फैलिनबाट रोक्नु रहेको छ ।