हिजो आज छापिएका किताब, पत्र पत्रिकाहरु सजिलै बजारमा पाइन्छन् तर पहिला पहिला यस्तो संभव थिएन । कुनै एक पुस्तक पाउनका लागि महिनौ होइन, वर्षौ कुर्नपर्ने बाध्यता थियो । त्यसबेला पुस्तकहरु मात्र धनी व्यक्तिहरु सँग हुन्थ्यो । गरिबहरु त पुस्तकका बारेमा सोच्न पनि सक्दैन थिए किनभने त्यसबेला अहिलेको जस्तो छाप्ने मेसिन थिएन । एउटा पुस्तक तयार गर्न निकै मुश्किल पथ्र्यो । एउटा पुस्तक तयार गर्न वर्षौ समय लाग्थ्यो तब मात्र एउटा किताब तयार हुन्थ्यो । कुनै किताब ५, १० प्रति नक्कल निकाल्न वर्षौ लाग्ने गथ्र्यो । त्यसमा पनि धेरै गल्तिहरु हुन्थ्यो ।
हिजोआज छपाई मेसिनको आविष्कार पछि किताब छाप्न यति सजिलो भएको छ कि केहि समयमा नै लाखौ प्रति किताब छाप्न सकिन्छ । यो संभव हुनुको पछाडि महान् बैज्ञानिक जोन गुटेनबर्गको योगदान रहेको छ । उनैको चमत्कारका कारण मानिसहरुले आज मेसिनमा छापिएको किताब सजिलै पढ्न पाइरहेका छन् । जोन गुटेनबर्गको जन्म आजभन्दा ६०० वर्ष अघि जर्मनीको मेन्ज शहरमा भएको थियो । उनको पुरा नाम जोहनिस जेंस पलीस्च जुम गुटेनबर्ग थियो । उनका बुवा मेन्जका चिनिएका लेखापाल थिए । घरको आर्थिक स्थिति राम्रो थियो तर पनि गुटेनबर्गको ध्यान पढाईमा त्यति थिएन । उनी एकदम मनमौजी आफुनै ढंगले जीउने खालका बालक थिए । उनका साथीहरु सुनारहरु, मोहर बनाउनेहरु थिए । जसको गल्लीमा निकै पसलहरु थियो । उनीहरुको संगतमारहँदा गुटेनबर्गले ति कामहरु सिक्नेमौका पाए । धातुहरुलाई मिसाएर अलग अलग किसिमका धातुहरु बनाउने काममा उनी खप्पीस भए । त्यसै बेला उनको मनमा अनौठो विचारले जन्म लियो । उनले सोच्न थाले, के रबरमा जस्तै धातुमा अक्षरहरु ढाल्न सकिदैन ? यदि यो काम कुशलता पूर्वक गर्न सकियो भने छपाई मेसिन बनाउन सकिन्छ र त्यसबाट किताबहरु सजिलै छाप्न सकिन्छ र यो ज्ञानको संसारमा एउटा क्रान्ति जस्तै हुन्छ किनभने यसबाट किताबको प्रतिलिपि तयार गर्न लाग्ने मानिसको श्रम र समय बच्न सक्छ तर छपाई मेसिनको कल्पना गर्नु जति सजिलो थियो, त्यसलाई साँचो रुप दिनु उति नै गा¥हो थियो । तर गुटेनबर्ग एक साहसी व्यक्ति थिए ।
उनी परम्परागत भन्दा केहि नयाँ गर्न चाहन्थे र उनी अप्ठ्याराहरु सँग डराउने व्यक्ति थिएनन् । उनी आफुलाई समस्याहरुको सामना गर्न तयार राख्थे । उनी प्रतिभाशाली व्यक्तित्व हुनुका साथै एक कलाकार पनि थिए । सर्वप्रथम उनले अक्षरहरुको सुन्दर चित्र बनाए र त्यसैको आधारमा उनले काठको अक्षर बनाए अनि धातुको बेग्लाबेग्लै अक्षर बनाए । पछि सबै अक्षरहरुको साँचो बनाए अन्त्यमा १४५० मा उनले एक धनी साथीको मद्दतले पहिलो छपाई मेसिन निर्माण गरे । उनको त्यस प्रिन्टिङमेसिनमा छापिने पहिलो किताब ल्याटिन भाषाको बाइबल थियो । उक्त किताब छाप्न गुटेनबर्गले ३ वर्ष मेहनत गरेका थिए । आफ्नो पहिलो प्रयासमा नै गुट्नबर्गले यति होसियारी पूर्वक काम गरेका थिए कि उनको प्रेसमा छापिने पहिलो किताबको प्रत्येक पेजमा ४२ वटा पंक्तिहरु थियो । ।
उनीबाट छापिएको बाइबललाई आज पनि गुटेनबर्गको बाइबल भनेर चिनिन्छ । यो छापिएको पाँच सय वर्षपछि न्यूयोर्कमा यसको एक प्रति एकलाख बीस हजार डलरमा बिक्री भएको थियो ।वास्तवमा गुटेनबर्गको आविष्कारले क्रान्ति नै ल्यायो । अहिले किताब सजिलै छाप्न सकिन्छ साथै धातुमा ढालिएको अक्षरलाई बारम्बार प्रयोग गर्दा छपाईको काम सस्तो पनि भएको छ । पन्ध्रौ सताब्दी समाप्त नहुँदै यूरोपका अलग अलग शहरहरुमा एकहजार भन्दा बढि छपाईका मेसिनहरु लगाइएको थियो । गुट्नबर्गको मृत्यु पछि उनको जन्म स्थानमा उनको नाममा एउटा भव्य संग्रहालय स्थापना गरियो । अनेक शहरहरुमा उनको स्मारक बनाइयो । यसरी गुटेनवर्गले मानिसहरुलाई ज्ञान बाँड्ने अर्थात् पुस्तक छाप्ने कार्यमा क्रान्ति ल्याएर हामी मानिसलाई ठूलो योगदान दिएका छन् ।